Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
समाचार

कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

५ असार २०८३, शुक्रबार १४:१८

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बिहान ८ बजे बसेको बोर्ड बैठकको निर्णयअनुसार नतिजा प्रकाशन गरिएको हो।

गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको सार्वजनिक नतिजा अनुसार यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ परीक्षामा सहभागी कुल ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जना सबै विषयमा उत्तीर्ण भएका छन्।

त्यसैगरी, नियमिततर्फका १ लाख ४ सय ७१ जनाले एनजी ल्याएका छन् । यो नियमिततर्फको कुल परीक्षार्थी संख्याको करिब ३०.२५ प्रतिशत हो।

नियमित र आंशिक गरी यसपटक कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये आंशिकतर्फका ३६ हजार ४२० जनासहित कुल २ लाख ६८ हजार १९० जनाकाे नतिजामा सफल रहेकाे छ । दुवैतर्फका गरी ६४.३१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा अमर्यादित गतिविधि गर्ने ४० जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

कुन जीपीएमा कति विद्यार्थी ?
बोर्डले उपलब्ध गराएको नतिजाअनुसार यस वर्ष २.८१ देखि ३.२० जीपीएको सूचीमा धेरै विद्यार्थी छन्। यस समूहमा ९४ हजार २४९ जना छन्।

३.६१ देखि ४.० जीपीए : १७,७८६ जना

३.२१ देखि ३.६० जीपीए: ६४,८२१ जना

२.८१ देखि ३.२० जीपीए: ९४,२४९ जना

२.४१ देखि २.८० जीपीए: ५०,५९७ जना

२.०१ देखि २.४० जीपीए: ४,३०८ जना

१.६१ देखि २.०० जीपीए: ९ जना

सैद्धान्तिक परीक्षामा कम्तीमा ‘डी’ ग्रेड ल्याउनुपर्ने बोर्डले जनाएको छ । सोभन्दा कम अंक ल्याई बढीमा दुई विषयमा ‘एनजी’ आएका वा बढीमा दुई विषयमा अनुपस्थित रहेका विद्यार्थीले मौका (पूरक) परीक्षा दिन पाउनेछन् । उक्त परिक्षाका लागि समयतालिका छिट्टै सार्वजनिक गरिने बोर्डले जनाएको छ । विद्यार्थीले नतिजा राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकमको वेबसाइट साथै एसमएसबाट थाहा पाउन सकिने बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्