बारा। नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा सञ्चालित डेडिकेटेड ग्रान्ट मेकानिजम (डिजिएम) नेपाल परियोजनाअन्तर्गत नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सहकार्यमा आयोजित दिगो वन व्यवस्थापन, रेडप्लस, वन अधिकार तथा प्राकृतिक स्रोत शासनसम्बन्धी दुईदिने क्षेत्रीय कार्यशालाको पहिलो दिन विभिन्न विषयमा गहन छलफल र प्रशिक्षण सम्पन्न भएको छ।
शुक्रबारदेखि सुरु भएको कार्यशालामा मधेश र लुम्बिनी प्रदेशका १०० भन्दा बढी आदिवासी जनजाति पत्रकार सहभागी छन्। वन, जलवायु परिवर्तन तथा प्राकृतिक स्रोत व्यवस्थापनसँग सम्बन्धित विषयलाई तथ्यपरक, समुदायमैत्री र प्रभावकारी ढंगले सञ्चार गर्न पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो।
पहिलो दिनको उद्घाटन सत्रमा डिजिएम नेपालकी कार्यक्रम प्रमुख साधना सावाँ लिम्बुले आदिवासी सञ्चारलाई सूचना सम्प्रेषणको माध्यम मात्र नभई समुदायको आवाज, पहिचान र अधिकार सशक्त बनाउने माध्यमका रूपमा व्याख्या गरिन्। जलवायु परिवर्तनबाट प्रभावित आदिवासी जनजाति तथा स्थानीय समुदायका अनुभव र आवाजलाई राष्ट्रिय नीतिनिर्माण तथा सञ्चारको मूलधारमा स्थापित गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो।
आरआरएनका कार्यकारी निर्देशक नेत्र तिम्सिनाले रेडप्लस, वन संरक्षण तथा जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा समुदायसम्म सही सूचना पुर्याउन मातृभाषामा पत्रकारिता गरिरहेका आदिवासी सञ्चारकर्मीको भूमिका उल्लेखनीय रहेको बताए। तथ्यमा आधारित समाचार र विश्लेषणमार्फत वन संरक्षण, जलवायु न्याय तथा समुदायका अधिकार स्थापित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनको धारणा थियो।
कार्यशालामा वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रका प्रमुख एवं सहसचिव नवराज पुडासैनीले नेपालमा कार्यान्वयन भइरहेको रेडप्लस कार्यक्रम, नीतिगत व्यवस्था, लाभ बाँडफाँड प्रणाली तथा समुदायको सहभागिताबारे प्रस्तुतीकरण दिएका थिए। साथै रेड तथा वन व्यवस्थापन विज्ञ रुपेश कालाखेती, वरिष्ठ पत्रकार तथा आदिवासी अभियन्ता खिम घले र वरिष्ठ पत्रकार उजिर मगरले दिगो वन व्यवस्थापन, जलवायु न्याय, अनुसन्धानमूलक पत्रकारिता, तथ्यांकमा आधारित समाचार लेखन, फिचर लेखन तथा आदिवासी सन्दर्भमा नैतिक पत्रकारितासम्बन्धी प्रशिक्षण दिएका थिए।
प्रशिक्षणका क्रममा वन शासन, वन अधिकार, प्राकृतिक स्रोत व्यवस्थापन, नीतिगत वकालतमा सञ्चारको भूमिका तथा आदिवासी सञ्चारकर्मीहरूले भोगिरहेका भाषिक, संस्थागत, लैङ्गिक र पेशागत चुनौतीबारे पनि विस्तृत अन्तरक्रिया गरिएको थियो।
आयोजकका अनुसार कार्यशालाको दोस्रो तथा अन्तिम दिन सहभागीहरूले पहिलो दिन सिकेका विषयका आधारमा समाचार, फिचर तथा अन्य सञ्चार सामग्री तयार गर्ने व्यावहारिक अभ्यास गर्नेछन्। उक्त अभ्यासमा सञ्चार तथा विषयगत विज्ञहरूले सहजीकरण गर्ने कार्यक्रम रहेको छ।