काठमाडौं। बिलबिजक तथा आवश्यक कागजातबिना कवाडी सामग्री ढुवानी भइरहेको आशंकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मंगलबार २७ वटा कवाडी बोकेका ट्रक नियन्त्रणमा लिई राजस्व अनुसन्धान विभागमा पठाएका छन्।
प्रहरी स्रोतका अनुसार नियन्त्रणमा परेका ट्रकहरू रोशन चौधरी समूहसँग सम्बन्धित हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ।
यसबीच केही कवाडी व्यवसायी र कर्मचारीहरूले रोशन चौधरीले विभिन्न निकायमा ‘सेटिङ’ मिलाएर सरकारी राजस्व छल्ने तथा कवाडी व्यवसायीहरूसँग सम्बन्धित केही व्यक्तिलाई मासिक करिब ५० हजार रुपैयाँसम्म उपलब्ध गराएर अवैध गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएका छन्।
त्यस्तै, केही पत्रकारमाथि समाचार हटाउन वा प्रकाशन नगर्न दबाब दिने प्रयास भएको आरोप समेत व्यवसायीहरूले लगाएका छन्।
यसअघि रोशन चौधरीमाथि लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भएको र अदालतको अन्तरिम आदेशपछि रिहा भएको विषय पुनः चर्चामा आएको छ।
यता नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिइएका ट्रक, सम्बन्धित कम्पनी तथा संलग्न व्यक्तिमाथि थप अनुसन्धान जारी रहेको बताएका छन्।