Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
समाचार

भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब

३२ असार २०८३, बिहीबार २१:३२

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको निजामती तथा सार्वजनिक सेवाका कर्मचारीको तलब वृद्धि १ साउनदेखि लागू हुने भएको छ।

बजेटअनुसार कर्मचारीको आधारभूत तलब १० प्रतिशतले बढाइएको छ। साथै, कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणाली लागू गर्ने उद्देश्यले नयाँ तलबमानको १० प्रतिशत बराबर प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ। यसअघि दिइँदै आएको महँगी भत्ता यथावत् रहने भएकाले कर्मचारीको कुल मासिक पारिश्रमिक करिब २१ प्रतिशतसम्म वृद्धि हुने भएको छ।

नयाँ तलबमानअनुसार हाल ७७ हजार २ सय ११ रुपैयाँ आधारभूत तलब पाउँदै आएका मुख्यसचिवको तलब बढेर ८४ हजार ९ सय ३२ रुपैयाँ पुगेको छ। यसमा १० प्रतिशत प्रोत्साहन भत्ता र महँगी भत्ता थपिँदा मुख्यसचिवको कुल मासिक पारिश्रमिक ९८ हजार ४ सय २५ रुपैयाँ पुग्नेछ। आधारभूत तलबमा मात्रै मुख्यसचिवको करिब ७ हजार ७ सय रुपैयाँ र सचिवको करिब ७ हजार रुपैयाँ वृद्धि भएको छ।

त्यस्तै, सबैभन्दा तल्लो तहका कार्यालय सहायकको आधारभूत तलब २७ हजार ६ सय ११ रुपैयाँबाट बढेर ३० हजार ३ सय ७२ रुपैयाँ पुगेको छ। उनीहरूले यसअघि झैँ मासिक ५ हजार रुपैयाँ महँगी भत्ता पाउनेछन् भने करिब ३ हजार रुपैयाँ प्रोत्साहन भत्ता पनि थपिनेछ। यससँगै कार्यालय सहायकको कुल मासिक पारिश्रमिक करिब ३८ हजार ४ सय रुपैयाँ पुग्नेछ।

पेन्सन पाउने अवकाशप्राप्त कर्मचारीका हकमा भने आधारभूत तलबमा भएको वृद्धिको दुईतिहाइ हिस्सा मात्रै पेन्सनमा समायोजन हुनेछ। यसअनुसार पूर्वमुख्यसचिवहरूको मासिक पेन्सन करिब ५ हजार रुपैयाँले बढ्नेछ। अन्य अवकाशप्राप्त कर्मचारीको पेन्सन भने उनीहरूको सेवा अवधि तथा लागू हुने तलब स्केलका आधारमा निर्धारण हुनेछ।

प्रतिक्रिया दिनुहोस्