Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न

३ श्रावण २०८३, आईतवार २०:५९

काठमाडौं। आइतवार दिउँसोदेखि परेको अविरल वर्षापछि काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।

विशेषगरी माइतीघर मण्डला क्षेत्रको सडक जलमग्न हुँदा सवारी आवागमन प्रभावित भएको छ भने पैदलयात्रीले समेत सास्ती भोग्नु परेको छ ।

सडकमा पानी जम्दा साना तथा ठूला सवारी साधनलाई आवतजावत गर्न कठिनाइ भएको छ । पैदलयात्रीहरू पनि पानी छल्दै जोखिमपूर्ण रूपमा सडक पार गर्न बाध्य भएका थिए ।

यसैबीच, ट्राफिक प्रहरीहरु भने सडकमाथि झोलिएको विद्युत तथा सञ्चारका तार व्यवस्थापन गर्न व्यस्त देखिएका छन् । अविरल वर्षासँगै राजधानीका अन्य केही स्थानमा पनि सडकमा पानी जमेको छ । अविरल वर्षापछि काठमाडौंका सडकमा पानी जम्दा सवारीसाधन सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार सडकमा पानी जमेकाले केही स्थानमा सवारीसाधन एउटै लेनबाट सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । सुवेदीका अनुसार यसले सवारी आवागमनमा असहजता ल्याउनुका साथै दुर्घटनाको सम्भावना पनि बढाएको छ ।

आइतवार सार्वजनिक बिदा परेकाले ट्राफिक चाप सामान्य रहे पनि जलमग्न सडकका कारण चालकहरूले विशेष सावधानी अपनाउनु पर्ने अवस्था रहेको उनको भनाइ छ । प्रहरीका अनुसार माइतीघर, अनामनगरलगायत उपत्यकाका विभिन्न क्षेत्रमा आइतवार साँझदेखि रातिसम्म नै सडकमा पानी जमेको छ । वर्षायाममा यस्ता समस्या दोहोरिने भएकाले दीर्घकालीन समाधानका लागि प्रभावकारी ढल तथा पानी निकास व्यवस्थापन आवश्यक रहेको ट्राफिक प्रहरीको भनाइ छ ।

ट्राफिक प्रहरीले चालकहरूलाई पानी जमेको सडकमा तीव्र गतिमा सवारी नचलाउन, सुरक्षित दूरी कायम गर्न तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्न आग्रह गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्