Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
समाचार

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

६ श्रावण २०८३, बुधबार २१:०९

काठमाडौं। जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा जाने भएको छ ।

प्रशिक्षणमा सहभागी हुने खेलाडी घनश्याम रोका मगर, अंकु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली रहेका छन् ।

घनश्याम, अंकु, रवि र करुण भारतमै प्रशिक्षणमा छन् । घनश्याम हरियाणामै छन् भने बाँकी ३ खेलाडी हिमाचल प्रदेशमा छन् । उनीहरु त्यत्तैबाट टिमसंग समावेश हुने छन् ।

प्रशिक्षकमा विष्णु दत्त भट्ट, सहायक प्रशिक्षकमा कल्याण भुजेल र व्यवस्थापकमा पर्शुराम ओली छन् । व्यवस्थापक ओली भने केही दिनपछि जाने छन् ।

खेलाडीले हरियाणास्थित सनदीप नरवाल एकेडेमीमा १ महिना प्रशिक्षण गर्ने छन् । त्यसपछि टोली प्रशिक्षणकै लागि थाइल्यान्ड जाने कार्यक्रम पनि रहेको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।

‘यदि चाइनिज ताइपेइ पनि थाइल्यान्ड आयो भने मात्र हाम्रो टोली थाइल्यान्ड जान्छ । त्यहाँ हामीसहित ३ राष्ट्रको अभ्यास खेल हुन्छ । ताइपेइ थाइल्यान्ड नगएको खण्डमा हामी भारतकै जयपुर र उत्तरप्रदेशमा प्रशिक्षणलाई निरन्तरता दिने छौं । भारतमा विभिन्न स्थानिय टोलीसंग अभ्यास खेल पनि खेल्छौं ।’ तयारी बारे स्पष्ट पार्दै महासचिव झाले भने ।

टोली प्रशिक्षणस्थलबाटै असोज ३ देखि १८ गतेसम्म हुने एसियाली खेलकुदमा सहभागी हुन जापान जाने छ । एसियाली खेलकुदमा नेपाली पुरुष कबड्डी टोलीको यो पाँचौं सहभागिता हुनेछ । यसअघि पुरुष टोलीले १९९० मा चीन, १९९४ मा जापान, १९९८ मा थाइल्यान्ड र २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा सहभागिता जनाएको थियो ।

नेपाली महिला कबड्डीले पनि २० औं एसियाली खेलकुदमा सहभागिता जनाउने छ । महिला टोली दोश्रोपटक सहभागी हुन लागेको हो । चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा महिला टोलीले पहिलोपटक सहभागिता जनाएको थियो । पहिलो सहभागितामै महिला टोलीले ऐतिहासिक कांस्य पदक जितेको थियो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ र कबड्डी संघकी अध्यक्ष तुलसी थापाले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले खेलाडीलाई राम्रो तयारी गर्न सुझाउदै एसियाली खेलकुदमा उत्कृष्ट नतिजाका लागि शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्