सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन चर्किएपछि नेपाली सेना परिचालन गरिएको छ।
प्रदर्शनकारीले आगजनी तथा तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन सेनाको टोली हतियारसहित घटनास्थल पुगेको हो।
सेनाको उपस्थितिपछि कप्तानगञ्ज क्षेत्रको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ।
कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनामा सर्वसाधारण तथा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएको जनाइएको छ। घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि जिल्लाका पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो। तर, कर्फ्युको अवज्ञा गर्दै सोमबार बिहानैदेखि विभिन्न स्थानमा प्रदर्शन र तनाव जारी रहेपछि सुरक्षा व्यवस्था थप कडा पारिएको हो।