काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण तथा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवा प्रदायक कम्पनीलाई विभिन्न निर्देशन जारी गरेको छ।
प्राधिकरणले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम मोबाइल सेवा प्रदायकहरूलाई सेवा सुधार तथा नियामकीय अनुपालनका लागि आठ बुँदे निर्देशन दिइएको हो।
प्राधिकरणले मोबाइल सेवाको गुणस्तर (क्वालिटी अफ सर्भिस–क्युओएस), रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रमको प्रभावकारी उपयोग, अनुमतिपत्रका शर्तहरूको पालना तथा उपभोक्ता हित संरक्षणलाई थप प्रभावकारी बनाउन यी निर्देशन जारी गरिएको जनाएको छ।
पछिल्लो समय मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर, नेटवर्क अवरोध, ग्राहक गुनासो व्यवस्थापन र ग्रामीण क्षेत्रसम्म सेवा विस्तारका विषयमा उपभोक्ताबाट गुनासो बढिरहेका बेला प्राधिकरणको यो निर्णय आएको हो।
प्राधिकरणले सेवा प्रदायकलाई नेटवर्कको विश्वसनीयता, सेवाको गुणस्तर र ग्राहक अनुभव सुधार गर्न निर्देशन दिएको छ।
यसका लागि प्राधिकरणले निर्धारण गरेका प्रमुख कार्यसम्पादन सूचक (केपीआई) पूरा भए–नभएकोसम्बन्धी प्रतिवेदन नियमित रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
सेवा प्रदायकले आफ्नो नेटवर्कको अवस्था, सेवा अवरोध, डेटा गति तथा ग्राहक सन्तुष्टिको अवस्थाबारे नियमित जानकारी नियामक निकायलाई उपलब्ध गराउनु पर्नेछ।
उपभोक्ता सेवा सुधारलाई विशेष प्राथमिकता दिँदै प्राधिकरणले ग्राहक सहायता प्रणालीलाई प्रविधिमैत्री बनाउन आग्रह गरेको छ।
सेवा प्रदायकले उपभोक्ता बडापत्रको प्रभावकारी कार्यान्वयन गुपर्ने, २४सै घण्टा गुनासो सुनुवाइका लागि नवीनतम् प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोग गर्नुपर्ने र गुनासो समाधान प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने निर्देशन दिइएको छ।
साथै ग्राहक सन्तुष्टि सर्वेक्षण नियमित सञ्चालन गरी प्राप्त सुझावका आधारमा सुधारात्मक कार्य गर्नुपर्ने व्यवस्था गरिएको छ। रासस