Trending
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |     भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ     |     लुम्बिनी प्रदेश सभा सदस्यको पदमुक्त गर्ने निर्णयप्रति जसपाको आपत्ति     |     शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल     |     माधव नेपाललाई बादलको आरोप- राष्ट्रपति हुने गोप्य सम्झौतापछि राजीनामा     |     रवि-बालेनबिच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय छ: प्रमोद न्यौपाने     |     ग्यास अभाव समाधान गर्न प्राथमिकता दिन्छु: उद्योगमन्त्री साह     |     ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज     |     बिर्तामोडमा भदौ २७ देखि ‘युवा कलाकार अभिनय प्रशिक्षण’, कलाकारले सिक्नेछन् अभिनयका विविध सीप     |    
समाचार

अझै २८ जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता विवाद

२४ श्रावण २०८३, आईतवार २०:१०

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादको मुख्य जड मानिने क्रियाशील सदस्यताको विवाद अझै २८ जिल्लामा कायमै रहेको पाइएको छ ।

आइतबार महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरेको पछिल्लो तथ्यांकअनुसार देशका विभिन्न २८ जिल्लाका ६० भन्दा बढी निर्वाचन क्षेत्र र स्थानीय तहमा सदस्यता सम्बन्धी विवाद टुंगिन बाँकी देखिएको हो । संयोजक पौडेलले सार्वजनिक गरेको सूचीअनुसार कतिपय जिल्लामा केन्द्रबाट खटिएका नेताहरूले काम गरिरहेका छन् भने कतिपयमा प्राविधिक कारणले अद्यावधिक हुन सकेको छैन ।

पौडेलले प्रस्तुत गरेको तथ्याङ्क अनुसार कोशीदेखि

सुदूरपश्चिमसम्मका २८ जिल्लामा समस्या देखिएको छ । जसमा झापा (क्षेत्र नं ३), मोरङ (१, २ र ६), सुनसरी (१, २ र ४), इलाम २, संखुवासभा र भोजपुर रहेका छन् । मधेस प्रदेशका सिराहा, सप्तरी, धनुषा, सर्लाही र पर्साका विभिन्न क्षेत्रमा पनि विवाद कायम छ ।

यस्तै, बागमती प्रदेशका दोलखा, नुवाकोट, भक्तपुर तथा गण्डकीको बागलुङ र नवलपरासी (सुस्तापूर्व र पश्चिम) मा विवाद सुल्झिन बाँकी छ । लुम्बिनीका कपिलवस्तु, रुपन्देही र बाँके, कर्णालीका सुर्खेत र मुगु तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बाजुरा र बझाङ पनि समस्याग्रस्त सूचीमा परेका छन् ।

विवाद समाधानका लागि कांग्रेसले विभिन्न केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ ।

भोजपुरको जिम्मेवारी महामन्त्री विश्वप्रकाश शर्मालाई दिइएको छ ।बागलुङको विवाद टुंग्याउने जिम्मा केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले पाएका छन् । कञ्चनपुरमा दिलेन्द्रप्रसाद बडू र बाँकेमा प्रदीप शर्मालाई खटाइएको छ ।

धनुषाको विवाद मिलाउन अजयबाबु शिवाकोटी सक्रिय छन् भने सिराहामा सुवास पोखरेललाई जिम्मेवारी दिइएको छ ।

विवादका प्रकृति : छलफलदेखि प्राविधिक समस्यासम्म

विवरणअनुसार केही जिल्लामा विवादको प्रकृति फरक फरक छ । मोरङमा महामन्त्री गुरुराज घिमिरेले अद्यावधिक गर्न बाँकी रहेको उल्लेख छ भने दोलखाको समस्या ‘एक्सेल फाइल इन्ट्री’मा देखिएको छ । नुवाकोटमा कार्यवाहक सभापति तोक्नुपर्ने अवस्था छ भने सर्लाही र झापामा पार्टी सभापति र अन्य नेताहरूबिचको छलफलबाट मात्र टुंगो लाग्ने बताइएको छ ।

सुदूरपश्चिमको कैलालीमा भने काम लगभग सकिएको सूचीमा उल्लेख छ । डडेल्धुरा र बाजुरा जस्ता हिमाली तथा पहाडी जिल्लामा अद्यावधिक कार्य बाँकी रहेकाले सदस्यताको अन्तिम टुंगो लाग्न सकेको छैन ।

नेपाली कांग्रेसको आगामी महाधिवेशन र पार्टीको आन्तरिक सुदृढीकरणका लागि यो सदस्यता विवाद टुंग्याउनु चुनौतीपूर्ण देखिएको छ । संयोजक पौडेलले यी क्षेत्रका विवाद चाँडो समाधान गरी सदस्यताको अन्तिम सूची तयार पार्ने गृहकार्य भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्