काठमाडौँ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् ।
१२ साउनमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शाहीले बुधबार विश्वासको मत लिएका हुन् । दिउँसो ३ बजेपछि बसेको संसद वैठकमा विश्वासको मत पाउ भनी उनले प्रस्ताव पेश गरेका थिए ।
मुख्यमन्त्री शाहीले २१ मत प्राप्त गरेका छन् । वैठकमा ४० जनामध्ये सभामुखबाहेक ३६ जना सांसद सहभागी थिए । जसमध्ये विपक्षमा १३ जनाले मतदान गरेका छन् भने २ जना तटस्थ बसेका छन् । तटस्थ बस्नेमा नेकपाले आफ्नो सांसद गनेका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा र राप्रपाका सांसद सन्तोषी शाही रहेका छन् ।
शाहीको आफ्नो दल नेपाली कम्युनिष्ट पार्टीबाट १४ मध्ये १३ जनाले मतदान गरेका छन् । उनलाई समर्थन गरेको नेकपा एमालेका १० मध्ये ८ जना सांसदले मतदान गरेका छन् । नेकपालेका एक जना सांसद अनुपस्थित रहे भने एक जना सभामुख छन् ।
नेपाली काँग्रेसका १४ जनामध्ये वैठकमा उपस्थित १२ जनाले विपक्षमा मतदान गरेका छन् । यस्तै स्वतन्त्र एक जना सांसदले पनि विपक्षमा मतदान गरेका छन् ।