काठमाडौँ। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्मा बोलेको ‘नर्थ कोरिया मोडल र अमेरिका’ भन्ने शब्द संसद्को रेकर्डबाट हटेको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले रामबहादुर थापा र इन्दिरा रानाले बोलेका केही शब्द संसद्को रेकर्डबाट हटाउन निर्देश गरेका हुन् ।
भदौ ३ गतेको संसद् बैठकमा एमाले नेता बादलले बालेन सरकारप्रति लक्षित गर्दै पाकिस्तानी मोडल र नर्थ कोरिया मोडलको कुरा गरेका थिए ।
उनले बोलेको ‘नागरिकको बली र अमेरिका’ शब्द पनि संसद्को रेकर्डबाट हटेको छ ।
थापा गत वर्ष भदौ २३–२४ को घटना गराउन अमेरिका, आर्मी र अल्गोरिदम लागेको आरोप लगाएका थिए । थापाको यही अभिव्यक्ति हटाउन संसद्मा माग भएको थियो ।
साथै, सभामुख अर्यालले शासकीय मोडलको कुरा गर्दा मित्र राष्ट्रको शासकीय अभ्यासबारे गलत अर्थ लाग्नेगरी संसद्मा उल्लेख नगर्न सांसदको ध्यानाकर्षण समेत गराएका छन् ।
यस्तै, भदौ १ गतेको संसद् बैठकमा इन्दिरा रानाले बोलेको भालु र बेश्या भन्ने शब्द पनि संसद्को रेकर्डबाट हटेको छ।