विराटनगर। विराटनगर ८ हाटखोलास्थित मोरङ कारागारका कैदीबन्दीहरूले आइतबार राति नाराबाजी गरेका छन् ।
कारागारको ‘बी’ ब्लकमा रहेका कैदीबन्दीहरूले प्रहरीको आन्तरिक सुरक्षा अभ्यासलाई लिएर विरोध प्रदर्शन गरेका हुन् ।
प्रहरीले आपतकालीन अवस्थामा परिचालन हुने ‘स्ट्यान्ड टू’ अभ्यास सुरु गरेपछि बी ब्लकका ५ सय ६५ जना कैदीबन्दीहरू आन्दोलनमा उत्रिएका थिए । हाल मोरङ कारागारमा कूल १ हजार २ सय ३४ जना कैदीबन्दी रहेका छन् ।
मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवालका अनुसार प्रहरीले आफ्नो नियमित सुरक्षा योजनाअन्तर्गत अभ्यास गर्ने क्रममा कैदीबन्दीहरूले नाराबाजी गरेका हुन् । ‘प्रहरीले आपतकालीन सुरक्षा योजनाअन्तर्गत अभ्यास गरेको थियो, त्यही क्रममा उनीहरूले केही समय नाराबाजी गरे,’ उनले भने, ‘अहिले स्थिति सामान्य हुने क्रममा रहेको छ ।’
प्रहरीले कारागारभित्रको सुरक्षा व्यवस्था मजबुत बनाउन नियमित रूपमा यस्ता अभ्यासहरू गर्दै आएको जनाएको छ ।