काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न सफल हुनेमा आशा व्यक्त गरेका छन् ।
आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट सिर्जित संकट समाधानमा सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको बताए
प्रभावित प्रत्येक व्यक्तिसम्म राहत पुर्याउने र पुनर्निर्माण तथा पुनर्स्थापनाको कार्यलाई पूर्ण नतिजा नआएसम्म निरन्तर जारी राख्ने उनले प्रतिबद्धता जनाए ।
‘विगत पाँच दिनदेखि हाम्रो देशले अकल्पनीय र हृदयविदारक प्राकृतिक विपद्को सामना गरिरहेको छ । रसुवाको भोटेकोसी नदीमा गएको भीषण बाढीले पुर्याएकाे जनधन तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन गर्न अझै चुनौतीपूर्ण बनिरहेको छ । प्रतिकूल मौसम, जटिल भूगोल र लगातारको जोखिमका कारण यो काम चुनौतीपूर्ण भए पनि हामी दृढताका साथ नागरिकको जीवनरक्षाका लागि अघि बढिरहेका छौँ’, प्रधानमन्त्री शाहले भने ।
उनले सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरेर प्रभावित क्षेत्रका प्रत्येक नागरिकको जीवनरक्षा र राहतमा अहोरात्र खटिरहेकाे बताए । ‘आफ्ना प्रियजन, घरबार र जायजेथा गुमाउँदाको पीडाभन्दा ठूलो अन्य केही हुन सक्दैन । आफ्ना नागरिकहरू संकटमा परेको यस दुःखी घडीमा सरकार अत्यन्तै गम्भीर, स्तब्ध र संवेदनशील छ । हामी कुनै पनि बहाना नबनाई सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरेर प्रभावित क्षेत्रका प्रत्येक नागरिकको जीवनरक्षा र राहतमा अहोरात्र खटिरहेका छौँ । नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ पूरा गर्न हामी प्रतिबद्ध छौँ’, उनले लेखेका छन् ।
प्रधानमन्त्री शाहले बाढी गए लगत्तै सरकारले प्रभावित क्षेत्रबाट पीडित नागरिकको उद्धारलाई तीव्र पारेको बताए । प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिबीच पनि प्रभावित क्षेत्रबाट केहीबेर अघिसम्म नौ हजार ४३५ जनालाई हवाई र स्थलमार्गमार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको उनले जानकारी दिए ।
साथै राहत तथा उद्धार कार्यका लागि आज मात्रै थप ७२ सहित ३९४ उडान भरिसकेको अवस्था छ । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २० हजार ६१८ सुरक्षाकर्मी खटिनुभएको छ । उद्धारमा अन्य स्वयंसेवक साथीहरु व्यापक रुपमा निरन्तर लागिरहेको प्रधानमन्त्री शाहको भनाइ छ ।