Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति

२० आश्विन २०८१, आईतवार ११:१२

२० असोज, बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्‍याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर भित्राउने योजनामा रहेका किसान गएरातिको वर्षाले क्षति पुर्‍याएपछि चिन्तित बनेका हुन् ।

काटेर भित्राउने बेलाको बाली कहिले हावहुरीले कहिले वर्षाले क्षति गराइरहेको राप्तीसोनारी–३ की बजारी थारुले बताइन् । “पानीले भिजेर धान खेतमा जमरा झैँ उम्रेको छ, अझै पानी आयो भने वर्षभरि खाने अन्न नष्ट हुन्छ”, उनले भनिन् ।

करिब ६ कट्ठा जमिनमा लगाएको महेन्द्र ६ सय ६ जातको धान भिजेको बताउँदै थारुले अहिले घाम देखिन थालेकामा खुसी व्यक्त गरिन् । यस बाहेक गाउँका करिब ११ परिवारको धानबालीमा गएरातिको वर्षाले क्षति पुर्‍याएको उनले जानकारी दिइन् ।

राप्तीसोनारीका किसान रणबहादुर थारुले आफ्नो सबै धानबालीमा वर्षाले क्षति पुगेको बताए । काटेर राखेको करिब १० कट्ठामा लगाएको बाली पानीले भिजाएको उल्लेख गर्दै उनले धान उम्रिने अवस्थामा पुगेको बताए । “मौसम सफा भए बाली भित्राउन पकिन्थ्यो कि? घाम नलागे सबै धान जमिनमै नष्ट हुन्छ । वर्षभरि खाने अन्न नष्ट भए के खाने?”, उनले प्रश्न गरे ।

स्थानीय पत्रकार विमला चौधरीले करिब २ घण्टा परेको वर्षाले किसानको धानबालीमा क्षति पुर्‍याएको उल्लेख गर्दै भिजेको धान सबै उम्रन थालेको उल्लेख गरिन् । राप्तीसोनारी–३ का वडाध्यक्ष मिनराज खड्काले वर्षाका कारण काटेर राखिएका र ढलेका धानमा केही क्षति पुगेको बताए ।

वडाध्यक्ष खड्काले वडा कार्यालयबाट क्षतिको विवरण सङ्कलन गर्न लागिएको बताए । उनका अनुसार राप्तीसोनारी–३ र ४ का करिब ११ परिवारका किसानको धानबालीमा क्षति भएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्