Trending
नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक     |     घेरा तोड्दै रामेछापबाट उदाइन् विनिता खड्का     |     लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान जोगाउन मन्त्री पोखरेलको निर्देशन     |     प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, डिजिटल शासनदेखि विपद् व्यवस्थापनसम्म     |     कानुन सुधारसँगै विकास र लगानीलाई गति दिन्छौँ : मन्त्री लम्साल     |     वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै     |     कर्णालीको मनमोहक दृश्यमा ‘साँची राखी माया मेरो’ सार्वजनिक     |     मतभेद बिर्सेर पार्टीलाई एकताका साथ अघि बढाऔँ : अध्यक्ष ओली     |     विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधनको तयारी     |     भोटेकोसी–त्रिशूली विपद् समिति सभापतिमा पराजुलीले लिए शपथ     |    
समाचार

रवि-बालेनबिच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय छ: प्रमोद न्यौपाने

२५ भाद्र २०८३, बिहीबार २०:४२

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रमोद न्यौपानेले प्रधानमन्त्री र पार्टी सभापति रवि लामिछानेबीच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय रहेको बताएका छन्।

उनले दुई नेताबीच सम्बन्ध राम्रो नरहेको भन्दै फैलाइएको हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।

न्यौपानेले भने, ‘यो समीकरण बनेदेखि नै यिनीहरू मिलेर के गर्छन् र भन्ने आशंका गर्ने र अविश्वास सिर्जना गराउन खोज्ने एउटा तप्का सक्रिय छ।’ उनले नीतिगत विषय, सुशासन र सेवा प्रवाहका सम्बन्धमा दुई नेताबीच निरन्तर छलफल भइरहेको दाबी गरे।

संसद्मा रास्वपा सांसदहरूले सरकारको आलोचना गरिरहेको विषयमा उनले यसलाई आन्तरिक लोकतन्त्रको सुन्दर पक्षका रूपमा व्याख्या गरे। ‘संसद् भनेको जनप्रतिनिधिहरूले आम जनताका समस्या मुखरित गर्ने थलो हो। सरकारमा हाम्रो सहभागिता छ भन्दैमा प्रणालीका त्रुटिहरूमा आँखा चिम्लिनुपर्छ भन्ने छैन,’ न्यौपानेले भने।

पार्टीको संगठन विभाग प्रमुखमा आफ्नो मनोनयन निकटताका आधारमा नभई कार्यक्षमता र सांगठनिक आवश्यकताका आधारमा भएको उनले प्रस्ट पारे। उनले भने, ‘सभापतिसँगको निकटताको कुरा गर्नुहुन्छ भने सभापति सबै केन्द्रीय सदस्य र पार्टी सदस्यहरूको अभिभावक हुनुहुन्छ। तर जिम्मेवारी निकटताका आधारमा होइन, कार्यक्षमता, लगनशीलता र सांगठनिक आवश्यकताका आधारमा दिइएको हो।’

स्थानीय तहको निर्वाचन लक्षित गर्दै उनले ‘क्यान्डिडेट क्लब’ को अवधारणा अघि सारेका छन्। यस मार्फत उम्मेदवार बन्न चाहनेहरूलाई पहिचान गरी कडा मूल्यांकन प्रक्रियाबाट छनोट गरिने उनले जानकारी दिए।

न्यौपानेले परम्परागत पार्टीहरू जस्तो नेताको खल्तीबाट उम्मेदवार छनोट गर्ने परिपाटीको अन्त्य गर्न आफूहरू प्रतिबद्ध रहेको बताए। हालसम्म पार्टीमा करिब पाँच लाख साधारण सदस्य जोडिएको र सांगठनिक विस्तार निरन्तर भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्