काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रक्रिया जारी छ।
वर्षाका कारण देशभरका पालिका अधिवेशनहरू पूर्ण रूपमा सम्पन्न हुन सकेका छैनन्। नयाँ व्यवस्थाअनुसार केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्न नपाउने भएपछि नेताहरू वडा तहबाटै चुनिएर आउनुपर्ने बाध्यता छ। यसले गर्दा नेताहरूले यसपटक तल्लो तहसम्म पुगेर सक्रियता बढाएका छन्।
पार्टीको सभापतिमा गगन थापाको विकल्प नदेखिएको चर्चा चले पनि पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले भने सभापतिमा आफ्नो दाबी कायमै रहेको बताएका छन्। उनले सहमति भएमा उपसभापतिमा सम्झौता हुने सम्भावनालाई अस्वीकार गर्दै आफू सभापतिमै लड्ने स्पष्ट पारेका छन्।
कांग्रेसमा सभापतिबाहेक उपसभापतिका २ पद छन्। अघिल्लो विशेष महाधिवेशनबाट आएका विश्वप्रकाश शर्मा र पुष्पा भुसाल नै दोहोरिने सम्भावना रहेको नेताहरू बताउँछन्।
विश्वप्रकाश शर्मा उपसभापतिमा दोहोरिने तयारीमा रहेको उनी निकट स्रोतले जनाएको छ। त्यस्तै, पुष्पा भुसालले पनि महिला नेतृत्व विकास र सहभागिता बढाउन पदाधिकारीमै उम्मेदवारी दिने इच्छा व्यक्त गरेकी छन्।
समीकरणमा बदलाव आएमा महामन्त्री गुरूराज घिमिरे र प्रदीप पौडेलमध्ये एकजना उपसभापतिमा बढुवा हुन सक्ने चर्चा पनि पार्टीभित्र चलेको छ। पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना पनि पदाधिकारीको दाबेदार हुन्।
उनले उपसभापति वा महामन्त्रीमध्ये कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा समूहमा छलफल गरिरहेकी छन्। पार्टीमा आकांक्षी धेरै भएकाले सहमति वा निर्वाचनमध्ये कुन प्रक्रियाबाट नेतृत्व चयन हुन्छ भन्ने विषय अहिले चासोको विषय बनेको छ।