काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले आइतबार आफ्ना सांसदहरूका स्वकीय सचिवहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
संसदीय कामकारबाहीलाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। संसद् सञ्चालनका लागि सांसदहरूको उपस्थिति मात्र पर्याप्त नहुने भन्दै पार्टीले सही सूचना प्रवाह, व्यवस्थित समन्वय, जिम्मेवार टिम र स्पष्ट कार्यप्रणालीको आवश्यकतामा जोड दिएको छ।
कार्यक्रममा स्वकीय सचिवहरूको भूमिका र उनीहरूको जिम्मेवारीलाई थप मर्यादित तथा प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले पार्टीको विचार, अनुशासन तथा स्वकीय सचिवको कर्तव्यका विषयमा प्रकाश पारेका थिए। उनले सांसदको संसदीय भूमिकालाई सफल बनाउन स्वकीय सचिवको काम महत्त्वपूर्ण हुने बताए। त्यसैगरी, सचेतक प्रकाशचन्द्र परियारले संसदीय अभ्यासमा स्वकीय सचिवको महत्त्व र उनीहरूले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा सचेतक क्रान्तिशिखाले स्वकीय सचिवहरूबाट उठेका विभिन्न जिज्ञासा र व्यावहारिक चुनौतीहरूमाथि छलफल गर्दै उनीहरूलाई आवश्यक स्पष्टता प्रदान गरिन्। यस प्रकारको अभिमुखीकरणले सांसद र स्वकीय सचिवबिचको समन्वयलाई थप व्यवस्थित बनाउँदै संसदीय कामकारबाहीमा सहयोग पुग्ने अपेक्षा पार्टीले लिएको छ।