Trending
नारायणीको बाढीपछि सुस्ताका ८०० भन्दा बढी नागरिक सुरक्षित     |     बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार कार्य, ६८४ जनाको उद्धार     |     नारायणी नदीमा बगेको क्रुज पुलमा अड्कियो, उच्च जोखिम     |     चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने     |     देउवा समूहको निर्वाचन निर्देशिका : १८ देखि २८ वर्ष उमेर समूहको अनिवार्य प्रतिनिधित्व     |     रास्वपाद्वारा सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम     |     कांग्रेसमा एक उपसभापति पक्का, अर्को एक पदका लागि आकांक्षीको दौड     |     कांग्रेसमा नाराभन्दा नीति र परिणामको संस्कार आवश्यक : बिनिता खड्का     |     राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान     |     आदिवासी कथा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव : दोस्रो एनआईएफएफमा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्म     |    
समाचार

देउवा समूहको निर्वाचन निर्देशिका : १८ देखि २८ वर्ष उमेर समूहको अनिवार्य प्रतिनिधित्व

११ आश्विन २०८३, आईतवार २०:०३

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीका सबै तहका कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूको सहभागिता अनिवार्य गरेको छ।

समूहले तयार पारेको ‘निर्वाचन निर्देशिका २०८३’ अनुसार वडादेखि केन्द्रसम्मका सबै समितिमा युवा प्रतिनिधित्वलाई अनिवार्य सर्तका रूपमा राखिएको हो।

निर्देशिकामा गरिएको व्यवस्थाअनुसार जिल्ला, प्रतिनिधि सभा क्षेत्रीय वा प्रदेश सभा क्षेत्रीय कार्यसमितिबाट प्रतिनिधि छनोट गर्दा १८ देखि २८ वर्ष उमेरका एक महिला र एक पुरुष अनिवार्य समावेश गर्नुपर्नेछ। निर्वाचित हुने सबै तहका कार्यसमितिमा पनि सोही उमेर समूहका एक महिला र एक पुरुषको प्रतिनिधित्व अनिवार्य गरिएको छ।

नयाँ नियमअनुसार यदि कुनै कार्यसमितिमा उक्त उमेर समूहका युवा उपलब्ध नभएमा सो पद खाली राख्नुपर्नेछ। निर्देशिकामा उल्लेख भएअनुसार अन्य उमेर समूहका व्यक्तिले सो स्थान ओगट्न पाउने छैनन्। यो व्यवस्था समावेशी कोटा र विषय विशेषज्ञका रूपमा मनोनीत गरिने सदस्यहरूमा समेत लागू हुनेछ। यदि उक्त उमेर समूहका विशेषज्ञ नभएमा सो कोटा पनि खाली नै राख्नुपर्ने प्रावधान राखिएको छ।

देउवा समूहका नेताहरूका अनुसार यो व्यवस्थाले पार्टीभित्रको पुस्तान्तरणको खाडल पुर्न मद्दत गर्नेछ। लामो समयदेखि नेतृत्वमा पुरानै अनुहार दोहोरिएको आरोप खेप्दै आएको कांग्रेसमा तल्लो तहबाटै नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्न यो नीति ल्याइएको हो।

निर्देशिकामा १८ देखि २८ वर्षको उमेर समूहलाई ऊर्जावान र शिक्षित पुस्ताका रूपमा व्याख्या गर्दै उनीहरूलाई नीति निर्माणको तहमा जोड्नु पार्टीलाई आधुनिक र समयानुकूल बनाउने प्रयास भएको उल्लेख छ।

यस प्रावधानले नेतृत्वलाई युवा खोज्न र उनीहरूलाई राजनीतिमा तान्न बाध्य बनाउनेछ। यद्यपि, युवा शक्ति र अनुभवी नेतृत्वबीचको सह-अस्तित्व कसरी कायम हुन्छ भन्ने कुरा आगामी महाधिवेशनबाट चुनिने कार्यसमितिहरूले प्रस्ट पार्नेछन्।

प्रतिक्रिया दिनुहोस्