काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोपछि नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।
सेनाले हालसम्म ६८४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारमा पहिरोमा फसेका ७८ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी मुक्तिमार्ग माध्यमिक विद्यालयमा सारिएको छ। यसैगरी पर्वत, म्याग्दी र बागलुङबाट थप ६०२ जनालाई जमिन मार्गबाट सुरक्षित स्थानमा पुर्याइएको छ।
पाल्पाको रामपुर नगरपालिका-४ वडाबानघाटमा कालीगण्डकी नदी बस्तीमा पसेपछि सेनाले स्थानीयलाई सुरक्षित स्थानमा सारेको छ।
जाजरकोटको भेरी नगरपालिका-१३ कुदुस्थित नदीको टापुमा फसेका चार जनालाई पनि हेलिकप्टरको सहायताले उद्धार गरिएको छ। सेनाले म्याग्दी, बागलुङ र पर्वतका तीन स्थानमा गरी कुल ९७९ केजी राहत सामग्री ढुवानी गरेको छ।
सडक पूर्वाधार र बाँध मर्मतमा पनि सेना सक्रिय रहेको छ। डडेल्धुराको आलिताल गाउँपालिका-८ भगरियामा पहिरोले अवरुद्ध भएको जोगबुडा-बुडर सडकखण्ड सेनाले पुनः सञ्चालनमा ल्याएको छ।
रौतहटको मौलापुर नगरपालिका-१ मर्यादापुरमा लालबकैया नदीको बहाव बढेपछि सेनाले करिब ८० मिटर बाँध मर्मत गरी थप मजबुत बनाएको छ। विभिन्न गणबाट खटिएका टोलीले प्रभावित क्षेत्रमा निरन्तर काम गरिरहेको सेनाले जनाएको छ।