काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ।
पार्टीभित्रको विवादका कारण संस्थापन पक्षको प्रक्रियामा सहभागी नभएको देउवा समूहले छुट्टै महाधिवेशनका लागि निर्वाचन निर्देशिका सार्वजनिक गरेको छ।
पूर्वमहामन्त्री डा. शशांक कोइराला नेतृत्वको १५औँ महाधिवेशन तयारी समितिअन्तर्गतको निर्वाचन समितिले जारी गरेको निर्देशिका अनुसार केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क तोकिएको छ। यसअघि संस्थापन पक्षले सभापतिका लागि ४० हजार रुपैयाँ शुल्क निर्धारण गरेको थियो।
निर्देशिका अनुसार उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै प्रदेश तहमा सभापतिका लागि १० हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ६ हजार तथा सदस्य पदका लागि ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ। महाधिवेशन तयारीका लागि विभिन्न जिल्लामा संयोजक तथा केन्द्रीय प्रतिनिधिहरू खटाइएको छ।
निर्देशिकामा उम्मेदवारी दर्ता गर्दा प्रस्तावक र समर्थकको विवरण, क्रियाशील सदस्यता नम्बर र शुल्क बुझाएको रसिद पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
केन्द्रीय सभापतिका उम्मेदवारका लागि सात जना प्रस्तावक र सात जना समर्थक आवश्यक पर्नेछ। नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया र आधिकारिकतासम्बन्धी विवाद भने कायमै छ।
देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिक मान्दै आफ्नो नेतृत्वमा छुट्टै प्रक्रिया अघि बढाइरहेको छ भने अर्को पक्षले पनि आफ्नै कार्यतालिका अनुसार प्रक्रिया अघि बढाएको छ।