काठमाडौं। नारायणी नदीमा आएको बाढीले बगाएर ल्याएपछि पुलको पिल्लरमा अड्किएको राइनो क्रुज निकाल्ने प्रयास सोमबार पनि सफल हुन सकेन।
आइतबार साँझदेखि नै क्रुज निकाल्न सुरु गरिएको भए पनि प्राविधिक समस्याका कारण काम रोकिएको छ।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाका अनुसार सोमबार दिउँसो क्रेनको सहायताले क्रुज तान्ने प्रयास गरिएको थियो।
चितवनको कुरिनटारमा निर्माणाधीन बुढीगण्डकी हाइड्रो प्रोजेक्टको ८० टन क्षमताको क्रेन र नारायणघाट-बुटवल सडक विस्तार योजनाको क्रेन तथा एक एक्साभेटर प्रयोग गरिएको थियो। तर, डोरी चुँडिएपछि तान्ने काम स्थगित गर्नुपरेको रानाले जानकारी दिए। क्रुज निकाल्ने क्रममा सुरक्षाका लागि पुलमाथि सवारीसाधन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको थियो।
यसैबीच, क्रुज बगेको घटनालाई लिएर स्थानीय प्रशासनले सञ्चालकको लापरबाहीको प्रश्न उठाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले क्रुज सुरक्षित रूपमा पार्किङ नगरिएको आरोप लगाएका छन्।
क्रुजका प्रबन्ध निर्देशक दीपक ढुंगेलले भने अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै २० एमएमको दुई वटा ‘टु-चेन’ डोरीले क्रुज बाँधेर राखिएको दाबी गरेका छन्। नदीमा आएको अत्यधिक बहावका कारण क्रुज बगेको उनको भनाइ छ। ६० टन तौल, ९५ फिट लम्बाइ र २१ फिट चौडाइ भएको उक्त क्रुजको फलाम काटेर निकाल्न पनि कठिन रहेको उनले बताए।
२०७९ माघ १ गतेदेखि सञ्चालनमा आएको यो क्रुजमा एक पटकमा १८० यात्रु अट्ने क्षमता छ। हाल नवलपरासी र चितवनका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका अधिकारीहरू घटनास्थलमा खटिएका छन्।