Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

बाढीपहिरोबाट काभ्रेमा ४२ करोड बढीको क्षति

२२ आश्विन २०८१, मंगलवार १३:०९

२२ असोज, काभ्रे। हालैको बाढीपहिरोले काभ्रेपलाञ्चोकको ११ हजार ६ सय ८० रोपनी क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको भएको छ ।

बाढीपहिरोले जिल्लाका १३ वटै स्थानीय तहमा उक्त क्षेत्रफलमा लगाइएको धान, मकै, आलु, तरकारीलगायत अन्य बालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लामा ७ हजार २ सय परिवारले लगाएको बालीको प्रारम्भिक क्षतिको अनुमान अनुसार रु ४२ करोड ६३ लाख रहेको उक्त कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए । सबैभन्दा धेरै पनौती नगरपालिकामा रु ९ करोड ४१ लाख, धुलिखेल नगरमा रु ५ करोड ४८ लाख बराबरको क्षति भएको छ ।

उक्त कार्यालयले सार्वजनिक गरेको कृषि क्षतिको  विवरणअनुसार छ सय ६९ दशमलव आठ हेक्टर क्षेत्रफलको धान, ३० हेक्टरको मकैबाली तथा चार सय २७ दशमलव ७९ हेक्टर क्षेत्रफलको अन्य कृषि बालीमा क्षति पुगेको जनाइएको छ । यस्तै दुई हजार नौ मेट्रिकटन धान, ८४ मेट्रिकटन मकै, चार हजार दुई सय मेट्रिकटन तरकारी तथा अन्य बालीमा गरी कुल छ हजार तीन सय ७१ मेट्रिकटनमा अनुमानित गिरावट आउने उल्लेख गरिएको छ ।

यसैबिच जिल्लामा बाढीपहिरोबाट करिब चार हजार पशुपन्छी हताहत भएका अनुमान गरिएको छ । सबैभन्दा धेरै पनौती नगरमा २ हजार १०० पशुपन्छी मरेका छन् । जिल्लास्थित पशु सेवा कार्यालयका निमित्त प्रमुख निशान्त गेलालका अनुसार जिल्लाका १३ वटै तहबाट तथ्याङ्क सङ्कलन जारी छ । जिल्लाका सबै भागमा सञ्चार सम्पर्क कायम नभएका कारण यकिन विवरण प्राप्त हुन केही दिन लाग्ने उनले बताए ।

बाढीपहिरो र डुबानबाट अतिप्रभावित तीन दर्जनभन्दा बढी स्थानीय तहलाई राहत तथा पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारले शुक्रबार ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो । सरकारले तीन महिनाका संकटग्रस्त क्षेत्र घोषणा गरेमध्ये काभ्रेपलाञ्चोकको रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका छन् ।

प्रतिक्रिया दिनुहोस्