Trending
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त     |     ढुंगा लागेर सल्यानमा एक जनाको मृत्यु     |     सुर्खेतमा नक्कली विवाहमार्फत ठगी गर्ने दुई जना पक्राउ     |     नेपाल–अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो : परराष्ट्रमन्त्री     |     सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन     |     एनपिएल खेल्न अष्ट्रेलियाका क्रिस लिन आउँदै !     |     पोस्टरसहित चलचित्र ‘जूबा’को घोषणा     |     यु–२३ एसियन कप छनोट: नेपालले आज ताजिकिस्तानसँग खेल्दै     |     सुनको मूल्य हालसम्मकै उच्च     |     नेपाल ‘ए’ टोलीले जित्यो आसामविरुद्धको सिरिज     |    
समाचार

बाढीपहिरोबाट काभ्रेमा ४२ करोड बढीको क्षति

२२ आश्विन २०८१, मंगलवार १३:०९

२२ असोज, काभ्रे। हालैको बाढीपहिरोले काभ्रेपलाञ्चोकको ११ हजार ६ सय ८० रोपनी क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको भएको छ ।

बाढीपहिरोले जिल्लाका १३ वटै स्थानीय तहमा उक्त क्षेत्रफलमा लगाइएको धान, मकै, आलु, तरकारीलगायत अन्य बालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लामा ७ हजार २ सय परिवारले लगाएको बालीको प्रारम्भिक क्षतिको अनुमान अनुसार रु ४२ करोड ६३ लाख रहेको उक्त कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए । सबैभन्दा धेरै पनौती नगरपालिकामा रु ९ करोड ४१ लाख, धुलिखेल नगरमा रु ५ करोड ४८ लाख बराबरको क्षति भएको छ ।

उक्त कार्यालयले सार्वजनिक गरेको कृषि क्षतिको  विवरणअनुसार छ सय ६९ दशमलव आठ हेक्टर क्षेत्रफलको धान, ३० हेक्टरको मकैबाली तथा चार सय २७ दशमलव ७९ हेक्टर क्षेत्रफलको अन्य कृषि बालीमा क्षति पुगेको जनाइएको छ । यस्तै दुई हजार नौ मेट्रिकटन धान, ८४ मेट्रिकटन मकै, चार हजार दुई सय मेट्रिकटन तरकारी तथा अन्य बालीमा गरी कुल छ हजार तीन सय ७१ मेट्रिकटनमा अनुमानित गिरावट आउने उल्लेख गरिएको छ ।

यसैबिच जिल्लामा बाढीपहिरोबाट करिब चार हजार पशुपन्छी हताहत भएका अनुमान गरिएको छ । सबैभन्दा धेरै पनौती नगरमा २ हजार १०० पशुपन्छी मरेका छन् । जिल्लास्थित पशु सेवा कार्यालयका निमित्त प्रमुख निशान्त गेलालका अनुसार जिल्लाका १३ वटै तहबाट तथ्याङ्क सङ्कलन जारी छ । जिल्लाका सबै भागमा सञ्चार सम्पर्क कायम नभएका कारण यकिन विवरण प्राप्त हुन केही दिन लाग्ने उनले बताए ।

बाढीपहिरो र डुबानबाट अतिप्रभावित तीन दर्जनभन्दा बढी स्थानीय तहलाई राहत तथा पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारले शुक्रबार ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो । सरकारले तीन महिनाका संकटग्रस्त क्षेत्र घोषणा गरेमध्ये काभ्रेपलाञ्चोकको रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका छन् ।

प्रतिक्रिया दिनुहोस्