Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

दसैँमा मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा बिक्री

२३ आश्विन २०८१, बुधबार ०२:५९

२३ असोज, मुस्ताङ।यसपालीको दसैँ पर्वका लागि मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा बाहिरिएका छन् ।

मुस्ताङका कृषकले पालेका चार हजार आठ सय, डोल्पा र मुगुबाट ल्याइएका तीन हजार दुई सय भेडाच्याङ्ग्रा विभिन्न जिल्ला तथा सहरमा बिक्री भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका प्रमुख पशु चिकित्सक लालमणी अर्यालले उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यसपाली भेडाच्याङ्ग्राको बिक्री बढेको बताए । “घटस्थापनाको दिनदेखि सुरु भएको स्वास्थ्य परीक्षण गरेर च्याङ्ग्रा बजार पठाउने काम मङ्गलबार सकिएको छ,” उनले भने, “कृषकले तौलअनुसार प्रतिगोटा रु २८ हजारदेखि ३७ हजारका दरले च्याङ्ग्रा बिक्री गरेका छन् ।”

सरदर मूल्यअनुसार मुस्ताङ, डोल्पा र मुगुका कृषकले रु २६ करोड ४० लाख मूल्य बराबरको भेडाच्याङ्ग्रा बिक्री गरेका केन्द्रका प्रमुख अर्यालले बताए । पाँच सय भेडा (च्यालु) र सात हजार पाँच सय च्याङ्ग्रा बिक्री भएको हो । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत सहरमा मुस्ताङी भेडाच्याङ्ग्रा बिक्री भइरहेका छन् ।

जडिबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिने भएकाले दसैँतिहारमा हिमाली च्याङ्ग्राको मासुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताए । तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुनेगर्छ ।

यसपाली गत वर्षको तुलनामा मूल्य सस्तीएकाले च्याङ्ग्राको बिक्री बढेको व्यापारी टसी छेवाङ गुरुङले बताए । “गत वर्ष खोरमै प्रतिगोटा रु ४० हजारभन्दा बढी मूल्य तिरेर च्याङ्ग्रा खरिद गरेका थियौँ, यसपाली ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेर ल्याएका छौँ,” उनले भने, “ठाउँअनुसार पाँचदेखि १० हजार कम मूल्यमा च्याङ्ग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटेको हो ।”

गत वर्ष काठमाडौँ पोखरामा प्रतिगोटा रु ५५ हजारसम्म परेको च्याङ्ग्राको मूल्य यसपाली रु ४५ हजारभन्दा कम मूल्यमा बिक्री भएको छ । गत वर्ष बजारमा ल्याएको च्याङ्ग्रा महँगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान ब्यहोरेको गुनासो गरेका थिए ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङ्ग्रा पालिएका छन् । उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङ्ग्रापालन भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका कृषक डिण्डुप गुरुङले बताए ।

विसं २०८० मा सात हजार, २०७९ मा छ हजार आठ सय, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको सङ्ख्यामा मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्