Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव

२३ आश्विन २०८१, बुधबार ०३:१२

२३ असोज, सङ्खुवासभा। जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा रहेको हटियागोला खाद्य डिपोमा चामल अभाव भएको छ ।

वार्षिक खाद्यान्न कोटा पाँच सय क्विन्टल मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन् । खाद्य डिपोमा १५ महिनादेखि चामल अभाव भएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनुदानको चामल प्रशासनिक प्रक्रिया समयमा पूरा नहुँदा आपूर्ति गर्न नसकेको जनाएको छ । हटियागोला खाद्य डिपोमा गत वर्षदेखि चामल अभाव हुँदा समस्या भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताए ।

जिल्ला प्रशासन कार्यालयमार्फत प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनी विराटनगर र केन्द्रीय कार्यालय काठमाडौँलाई पत्राचार गरिएको भए पनि चाडबाडको समयमा समेत हटियागोला खाद्य डिपोमा चामल नआएको गाउँपालिका अध्यक्ष भोटेको गुनासो गरे ।

डिपोमा चामल अभाव भएको र किमाथाङ्कानाका सीमापारिको चीनको चाँगामा पहिराका कारण नाका बन्द हुँदा भोटखोलावासीलाई थप समस्या भएको अध्यक्ष भोटेले बताए । भोटखोला गाउँपालिकाका अधिकांश नागरिक खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजार चाँगा र देन्दाङमा निर्भर रहँदै आएका छन् ।

चीनको चाँगामा पहिरो खसेका कारण असोज १२ गतेदेखि आवागमनमा  रोक लगाइएको हो । सदरमुकाम खाँदबारीमा एक हजार पाँच सय क्विन्टल र उत्तरी क्षेत्र भोटखोलामा पाँच सय क्विन्टलको कोटा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्