Trending
अपहरणमा परेकी महिलाको सकुशल उद्धार, एक युवती पक्राउ     |     गगन थापा र चौथाइवालेबिच भेटवार्ता     |     जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको विश्व समुदायलाई आग्रह     |     निर्माणाधीन घरको छतबाट लडेर मजदुरको मृत्यु     |     नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह     |     सरकारले विकासका कामलाई तीव्रता दिनुपर्छ : नेता कोइराला     |     बाढीले क्षति गरेको नख्खु खोलाको पानी वितरण गरिने     |     वरदान बन्दै त्रिविको अनलाइन कक्षा     |     सीआईबी प्रमुख एआईजी थापाको तस्बिर राखेर धम्की दिने खड्का पक्राउ     |     अमेरिका गएका अध्यक्ष नौ महिनासम्म नफर्केपछि वडा कार्यालयमा तालाबन्दी     |    
समाचार

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

२४ आश्विन २०८१, बिहीबार ०१:२९

२४ असोज,काठमाडौँ। भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । बुधबार राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा ८६ वर्षको उमेरमा उनको निधन भएको हो ।

टाटा सन्सका अध्यक्ष एन चन्दशेखरनले टाटा समूहका तर्फबाट सूचना जारी गर्दै रतनको निधन भएको पुष्टि गरेका हुन्। भारत सरकारबाट पद्मभूषणले सम्मानित रतनको निधनमा भारतीय नेता, उद्योगपति, सेलिब्रेटिजसहित विश्वभरका उनका प्र्रशंसकले श्रद्धाञ्जली अर्पण गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटा दूरदर्शी व्यापारी र असाधारण व्यक्ति रहेको उल्लेख गरेका छन्। कांग्रेस नेता राहुल गान्धीले व्यापार र परोपकारी क्षेत्रमा रतनको विशेष योगदान रहेको स्मरण गरेका छन्।

आफ्नो सादगी र सरल स्वभावका लागि परिचित रतन टाटाले उदारीकरणको युगपछि टाटा समूहलाई आजको उचाइमा पुर्याउन ठुलो योगदान रहेको छ । रतन टाटा सन् १९६१-६२ मा टाटा समूहमा आबद्ध भएका थिए । यसपछि उनले हार्वर्ड बिजनेस स्कूलबाट एडभान्स म्यानेजमेन्ट प्रोग्रामबाट व्यवस्थापन पढेका थिए ।

सन् १९९१ मा उनी टाटा समूहको अध्यक्ष बने । सन् २०१२ मा सेवानिवृत्त भएका थिए । भारतमा पहिलो पटक पूर्ण रूपमा निर्मित कारको उत्पादन सुरु गर्ने श्रेय पनि उनलाई जान्छ । पहिलो पूर्णतया स्वदेशी रूपमा निर्मित कारको नाम टाटा इन्डिका थियो । विश्वकै सस्तो कार टाटा नानो बनाउने उपलब्धि पनि उनको नाममा छ । उनको नेतृत्वमा टाटा समूहले ल्यान्ड रोभर र जगुआर खरिद गरेर अन्तर्राष्ट्रिय हलचल मच्चाएको थियो । उनलाई पद्मविभूषणबाट पनि सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्