Trending
मुख्यमन्त्री कँडेलले गुरुयोजना निर्माणलाई दिए प्राथमिकता     |     जाजरकोट डिभिजन वन प्रमुखमाथि कार्यकक्षमै हातपात     |     खानेपानीको माग गर्दै सुकुम्बासीले गरे आन्दोलनको घोषणा     |     गृहमन्त्रीसंग प्रभु साहको प्रश्न, ‘तपाईहरुको कमाण्डमा सुरक्षा निकाय छ की छैन ?’     |     एलन मस्कको स्टारलिंक स्याटेलाइट सेवालाई श्रीलंकाको स्विकृति     |     डिशहोमद्वारा ‘भर्चुअल प्रिभिलेज कार्ड’ सार्वजनिक     |     पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता     |     प्रताप दास र अन्नु चौधरीको गीतमा जापानका मोडल शिरीषको अभिनय     |     कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली     |     सुर्खेतमा चार घण्टा रोकिएपछि प्रधानमन्त्री ओली हुम्लातर्फ उडे     |    
समाचार

चाडपर्वलाई आर्थिक बोझ र तडकभडकको प्रतिस्पर्धा नबनाऔँ : पूर्वअध्यक्ष रेग्मी

२५ आश्विन २०८१, शुक्रबार ०१:५३

२५ असोज,काठमाडौँ। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले चाडपर्वलाई आर्थिक बोझ र तडकभडकको प्रतिस्पर्धा नभई आआफ्ना क्षमताअनुसार सहजरुपमा मनाउने वातावरण बनाइन आवश्यक रहेको बताएका छन् ।

विजयादशमी अवसरमा दिएको शुभकामना सन्देशमा उनले राष्ट्रका समग्र गतिविधिलाई समुन्नत बनाउँदै जनसमुदायमा सुख, समृद्धि र सामाजिक सद्भाव बढाउने कार्यमा विजयादशमीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका हुन् ।

पूर्वअध्यक्ष रेग्मीले सन्देशमा भनेका छन्, “नेपालीहरूको महान् चाड एवम् पर्वका रूपमा मनाइँदै आएको विजयादशमीले हाम्रा परम्परा र संस्कृतिको छुट्टै पहिचान दिन्छ । भ्रातृत्व, सद्भाव र परिवार समाजको मिलनको पर्व पनि हो विजयादशमी ।”

उनले दसैँको मुखैमा भएको वर्षा, बाढीपहिरा पीडित र प्रभावित व्यक्ति दुःख र पीडामा रहेकाले राहत र पुनर्निर्माणमा सरकार र सम्पूर्ण राष्ट्र संवेदनशील हुनु जरुरी रहेको बताए ।

पूर्वप्रधानन्यायाधीश रेग्मीले आजको युगमा जुनसुकै कुरासँग जोडिने विषय विकास र समृद्धि नै भएकाले त्यसका लागि राजनीतिक स्थिरता, दृढ इच्छाशक्ति, नवीनतम दृष्टिकोण र इमानदारितापूर्ण प्रयास महत्त्वपूर्ण विषय हुने धारणा व्यक्त गरे ।

उनले सन्देशमा भनेका छन्, “शुभकामना आदानप्रदान गर्दै राग, द्वेषलाई पर राखेर रमणीय मौसमी प्रकृतिको उल्लासमय वातावरणमा शान्ति र समृद्धिको कामनाका साथ मनाइने पर्व हो विजयादशमी । त्यसैगरी मनाऊँ त्यसैगरी रमाऔँ ।”

पूर्वअध्यक्ष रेग्मीले नवदुर्गा भवानीले सम्पूर्ण नेपालीजनमा शान्ति, सुख, समृद्धि प्रदान गरुन् भन्ने कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्