Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

दसैँलाई कोसेली मुस्ताङी स्याउ

२५ आश्विन २०८१, शुक्रबार ०२:०६

२५ असोज,म्याग्दी। म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किने ।

“छिमेकी जिल्ला मुस्ताङमा उत्पादन हुने सिजनको फलफूल स्याउ स्वादिलो र रसिलो हुने भएकाले हरेक वर्ष दसैँमा कासेली लैजाने चलन छ”, उनले भने, “अन्य ठाउँमा उत्पादन हुने स्याउको तुलनामा मुस्ताङी स्याउ स्वादिष्ट र स्वस्थकर भएकाले ग्राहकको रोजाइमा परेको हो ।”

लामो समयसम्म भण्डारण गर्न सकिने र आयातित भन्दा सस्तो भएकाले म्याग्दीलगायत गण्डकी प्रदेशका जिल्लामा दसैँ तिहार जस्ता चाडपर्वमा मुस्ताङी स्याउको खपत धेरै हुने गर्छ ।

बेनीका फलफूल पसलहरूमा बिहीबार दिनभर स्याउ किन्नेको चहलपहल थियो । बेनीका व्यापारी विद्यानन्द शाहले अन्य समयको तुलनामा स्याउको व्यापार दश गुणा बढी भएको बताए।

“अघिपछि दैनिक १० किलोग्रामको अनुपातमा स्याउ बिक्री हुन्छ,” उनले भने, “दसैको याममा दैनिक दुई सय किलोग्राम स्याउ ल्याउँदा पनि पुग्दैन ।” विजयादशमीको टीका र जमरा लगाएपछि स्याउ, केरा, कुराउनी, अम्बा जस्ता फलफूल प्रसाद दिने चलन छ ।

घरमा आउने पाहुनालाई प्रसाद दिने मात्र नभएर मान्यजनकहाँ दसैँको टीका, जमरा र आशीर्वाद लिन जाँदा पनि सजिलो हुने भएकाले स्याउनै बोकेर जाने गरेको बेनपा–२ की सुजता शर्माले बताइन् ।

कृषक र व्यापारीहरूका अनुसार मुस्ताङमा उत्पादन भएको स्याउ दसैँमा धेरै खपत हुने गर्छ । स्याउ व्यापारी सिवाङ तामाङले दसैँका लागि २० ट्रक स्याउ मुस्ताङबाट पोखराको मण्डीमा पठाएको बताए । दसैँमा माग उच्च हुने भएकाले अघि नै टिपेर बजार पठाउने गर्छन् । चाडपर्वको समयमा स्याउले मूल्य पनि राम्रो पाउँछ ।

बेनीमा प्रतिकिलोग्राम दुई सय २० का दरले मुस्ताङी स्याउ बिक्री भएको छ । मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत नेत्रप्रसाद भट्टले दसैँमा मुस्ताङमा उत्पादन भएको स्याउको ठुलो मात्रा खपत हुने बताए ।

चाडपर्वको अलावा मुस्ताङ घुम्न आउने पर्यटक र पाहुनाहरूले कोसेलीको रूपमा स्याउ, स्याउको सुकुटी, स्याउको मदिरा, ओखर, जिम्बु, स्थानीय जातको सिमीको दाल किनेर लैजान्छन् । दसैँअघिको तीज र पछिको तिहार तथा छठ पर्वका लागि पनि मुस्ताङको स्याउ बजार पठाउने गरिएको मार्फाका कृषक लालप्रसाद हिराचनले बताए ।

प्रतिक्रिया दिनुहोस्