Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

दसैँमा पनि जलविद्युत्को कामलाई निरन्तरता

२६ आश्विन २०८१, शनिबार ०४:०६

२६ असोज, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैँमा पनि कामलाई निरन्तरता दिएको छ ।

निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वका समयमा पनि नरोकिएको आयोजनाले जनाएको छ । आयोजनाका तीनवटै ‘प्याकेज’का काम दसैँमा निरन्तर सञ्चालन भइरहेको र हाल २२ चिनियाँ, दुई सय जना नेपाली प्राविधिक तथा कामदारसहितले काम गरिरहेका तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताए ।

भण्डारीले भने, “निर्धारित समयमा पूरा गर्न तीनै प्याकेजअन्तर्गतका कामलाई दसैँ बिदामा पनि नरोकी सञ्चालन गरिरहेका छौँ । सिफ्टमा आलोपालो मिलाएर दसैँलगत्तै काममा फर्किने गरी केही नेपाली कामदारलाई दसैँ मनाउन बिदा दिइएको छ ।”

आयोजनाका अनुसार प्याकेज-१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन (प्रालि) नेपाल जेभीले काम गरिरहेको छ । यसअन्तर्गत बाँध खन्ने काम पूरा भई क्रङ्क्रिटको काम सुरु गर्न लागिएको छ ।

यसैगरी प्याकेज–२ अन्तर्गत पावरहाउसतर्फ स्टालेसन गर्ने कार्य तीव्र रूपमा भइरहेको छ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका काम भइरहेका हुन् । प्याकेज–२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ । भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्नगरी कङ्क्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युतगृहमा रहने उपकरण जडानलगायत काम भइरहेका छन् ।

यसैगरी प्याकेज–३ अन्तर्गत ९४ टावरमध्ये ७९ वटा टावरको फाउण्डेसन निर्माण गरिनुका साथै ६९ वटा टावर ठड्याइसकिएको छ । यहाँ वन क्षेत्रमा पर्ने काम भने नीतिगत निर्णय नहुँदा रोकिएको आयोजनाले जनाएको छ । यसको काम केइसी इन्टरनेसनल लिमिटेड, भारतले गरिरहेको छ । आयोजनाको समग्रमा ६२ प्रतिशत काम पूरा भएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एसियाली विकास बैंक (एडिबि) ले  १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोेर्नेगरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्