Trending
वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |     नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |    
समाचार

मौसम प्रतिकूलताका कारण लुक्लामा दुई दिनदेखि उडान ठप्प

२९ आश्विन २०८१, मंगलवार १५:३९

२९ असोज, सोलुखुम्बु। प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा दुई दिनदेखि जहाज उडान ठप्प छ ।

मौसममा आएको परिवर्तनका कारण सोमबारबाट कुनै पनि जहाजले उडान भर्न नसकेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालयका ‘एटिसी अफिसर’ विवस दाहालका अनुसार आइतबार ९० वटा उडानमार्फत करिब आठ सय पर्यटक भित्रिएको लुक्लामा त्यसपछि कुनै पनि उडान हुन सकेको छैन । निरन्तर हुस्सुका कारण उडान प्रभावित हुँदा सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटक समस्यामा परेका छन् ।

“रामेछापको मन्थलीमा पनि लुक्ला आउने पर्यटकहरू रोकिएका छन्, कतिपय काठमाडौँमा पनि रोकिएको खबर छ । मौसम प्रतिकूल हुनसाथ उडान प्रभावित हुँदा पर्यटक रोकिएका हुन्”, उनले भने ।

उडान प्रभावित भएसँगै पर्यटक लिएर आएका हेलिकप्टर लुक्लाभन्दा केही तल सुर्केमा अवतरण भइरहेको बताइएको छ ।  नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहले लुक्ला जान मन्थली पुगेका करिब एक हजार तीन सय जना विदेशी पर्यटक दुई दिनदेखि सोही स्थानमा रोकिएको जानकारी दिए ।

उडान प्रभावित हुँदा रोकिएका पर्यटक सडक मार्गबाट सोलुखुम्बु सदरमुकाम सल्लेरी हुँदै खुम्बु जाने योजनाका साथ अघि र केही भने हेलिकप्टरमार्फत सुर्के गइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्