Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

३० आश्विन २०८१, बुधबार ०३:४१

३० असोज, काठमाडौँ।आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो ।

सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।  यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज  दिन हो । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो ।

महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका नागरिक मान्यजनकहाँ टीका लगाउन गइरहेका देखिन्छन् । बडादसैँको सार्वजनिक बिदा सोमबार सकिएर मङ्गलबारदेखि सरकारी कार्यालय खुलेका छन् । टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म निरन्तर चलिरहने शास्त्रीय व्यवस्था रहेको छ ।

यस वर्ष आज अखिल बलिपूर्ति र कोजाग्रत पूर्णिमा तथा  कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ । कात्तिक १ गतेदेखि नेपालीको महान् चाड बडादसैँ समापन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्