Trending
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त     |     ढुंगा लागेर सल्यानमा एक जनाको मृत्यु     |     सुर्खेतमा नक्कली विवाहमार्फत ठगी गर्ने दुई जना पक्राउ     |     नेपाल–अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो : परराष्ट्रमन्त्री     |     सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन     |     एनपिएल खेल्न अष्ट्रेलियाका क्रिस लिन आउँदै !     |     पोस्टरसहित चलचित्र ‘जूबा’को घोषणा     |     यु–२३ एसियन कप छनोट: नेपालले आज ताजिकिस्तानसँग खेल्दै     |     सुनको मूल्य हालसम्मकै उच्च     |     नेपाल ‘ए’ टोलीले जित्यो आसामविरुद्धको सिरिज     |    
समाचार

देशभर १९ हजार जनामा डेंगु संक्रमण

३० आश्विन २०८१, बुधबार ०३:४८

३० असोज, काठमाडौँ। देशभर डेंगु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेंगु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् ।

डेंगु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेंगु सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् । यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेंगु सङ्क्रमण देखिएको छ ।

यस्तै तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्छन्,’पोस्ट मनसुन सुरु हुँदा डेंगुको  जोखिम बढ्ने सम्भावना हुन्छ । दसैँ लगत्तै अस्पताल आउने डेंगुका बिरामी बढिरहेका छन् । समुदायमा डेंगु सङ्क्रमण फैलिएको देखिन्छ ।’

विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्