Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

दसैँमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा

१ कार्तिक २०८१, बिहीबार ११:०४

१ कातिक,काठमाडौँ। बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन्।

विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार दसैँको फूलपातीदेखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ एक लाख ६० हजार नौ सय १० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार पाँच सय १२ जनाले हवाई यात्रा गरेका हुन्।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दसैँको सात दिन अर्थात् असोज २४ गते फुलपातीदेखि पूर्णिमाको अघिल्लो दिन (असोज ३० गते) सम्म आन्तरिकतर्फ दुई हजार एक सय ५९ र अन्तर्राष्ट्रियतर्फ सात सय ८१ गरी कुल दुई हजार नौ सय ४० उडान भएका छन्। यो दुईतर्फी उडानको सङ्ख्या हो।

दसैँको दुुई दिन अर्थात् असोज २४ गते फूलपाती र असोज २६ गते ९महाअष्टमी÷महानवमी० मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका थिए। असोज १३ गतेदेखि असोज २८ गतेसम्म कुल चार लाख २७ हजार नौ सय ४६ जनाले हवाई यात्रा गरेको विमानस्थलले जनाएको छ। यसमा आन्तरिकतर्फ दुई लाख २३ हजार आठ सय ४७ र अन्तर्राष्ट्रियतर्फ दुई लाख ४० हजार ९९ यात्रुले आवत जावत गरेका छन्।

यसैगरी असोज १३ गतेदेखि असोज २८ गतेसम्म आन्तरिकतर्फ पाँच हजार एक सय आठ र अन्तर्राष्ट्रियतर्फ एक हजार सात सय ४४ गरी कुल ६ हजार आठ सय ५२ उडान सञ्चालन भएको विमानस्थलको तथ्याङ्कमा उल्लेख छ।

यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए। ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाई यात्रा गरेका थिए। यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको चाप बढेको थियो।

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवनमा यात्रुको खचाखच भीडभाड थियो। अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ। यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० विमान कम्पनीले उडान गर्दै आएका छन् भने आन्तरिकतर्फ सात विमान कम्पनीले सेवा दिइरहेका छन्। दसैँको समयमा आन्तरिकमा सुगम विमानस्थलमा ठूला एयरलाइन्सका विमानले उडान भरे। निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स तथा श्री एयरलाइन्सले बढी उडान भरेका थिए।

यी कम्पनीसँग ठूला र मझौला विमान छन्। बुद्ध र यतीसँग एटीआर ७० विमान र श्री एयरलाइन्सस ८० सिट क्षमताका ‘ड्यास एट’ विमान छन्। समिट एयर, तारा एयर र सीता एयरले लुक्लालगायत दुर्गम गन्तव्यमा उडान भर्ने गरेका छन। नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा मात्र दुई विमानले दुर्गम क्षेत्रमा उडान भर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्