Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

हेटौँडा सिमेन्टको उत्पादन २१ दिन बन्द

२ कार्तिक २०८१, शुक्रबार १५:५७

२ कात्तिक, मकवानपुर। हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतसम्भार गर्नुपर्ने जनाउँदै तीन हप्ताका उत्पादन बन्द गरेको छ ।

बडादसैँको बिदालगत्तै उद्योग सञ्चालन गरिए पनि क्लिनिकलर मेसिनलगायत विभिन्न उपकरणको तत्काल मर्मतसम्भार गर्नुपर्ने अवस्था आएकाले आजदेखि  उत्पादन बन्द गर्नुपरेको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिए।

उपकरण मर्मत सकिएलगत्तै उत्पादन सुरु गरिने उनले बताए। ‘उद्योगलाई आवश्यकपर्ने करिब चार सय मेट्रिक टन कच्चापदार्थ कोइला जगेडा राखिएको र बाँकी थप कोइला खरिद गर्न बोलपत्र आह्वान गरी सम्बन्धित पक्षलाई स्वीकृति प्रदान गरिसकेका छौँ, त्यसैले मर्मत सकिएलगत्तै काम सुरु गर्छौं,’ महाप्रबन्धक पाण्डेले बताए।

उक्त उद्योग करिब साढे दुई महिनाअघि आर्थिक अभावले बन्द भएकामा भदौ तेस्रो सातादेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो। यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेर भण्डार गरिएको, अहिले उत्पादित सिमेन्टको बोरामा प्याकिङ गरी काठमाडौँलगायत विभिन्न सहरमा पठाउने काम भइरहेको नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए।

विसं २०३३ मा हेटौँडाको लामसुरेमा तत्कालीन श्री ५ सरकारले रु एक अर्ब ५० करोडको लगानीमा उद्योग स्थापना गरी विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक उत्पादन सुरु भएको थियो।

हाल यस उद्योगमा प्रशासन, भण्डारण, बजार व्यवस्थापन, चुनढुङ्गा खानी र मजदुर कर्मचारीलगायत एक सय ८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन्।उद्योगसँग दैनिक क्षमता १८ हजार बोरा उत्पादन गर्ने क्षमता भए पनि पछिल्लो समय १० हजार बोरामात्र उत्पादन हुने गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्