Trending
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त     |     ढुंगा लागेर सल्यानमा एक जनाको मृत्यु     |     सुर्खेतमा नक्कली विवाहमार्फत ठगी गर्ने दुई जना पक्राउ     |     नेपाल–अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो : परराष्ट्रमन्त्री     |     सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन     |     एनपिएल खेल्न अष्ट्रेलियाका क्रिस लिन आउँदै !     |     पोस्टरसहित चलचित्र ‘जूबा’को घोषणा     |     यु–२३ एसियन कप छनोट: नेपालले आज ताजिकिस्तानसँग खेल्दै     |     सुनको मूल्य हालसम्मकै उच्च     |     नेपाल ‘ए’ टोलीले जित्यो आसामविरुद्धको सिरिज     |    
समाचार

पर्यटन प्रवर्द्धन गर्न ताल निर्माण गर्दै सुस्ता गाउँपालिका

५ कार्तिक २०८१, सोमबार ०४:५०

५ कार्तिक,नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले करिब २० बिघामा ताल बनाउने भएको छ  ।

आन्तरिक तथा बाह्य पर्यटन  प्रवर्द्धनका लागि गाउँपालिकाले ताल निर्माण गर्न लागेको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताए । सुस्ता –३ र ४ नं वडाको बिचमा रहेको घोलालाई सफाइ तथा मर्मत गरी  ताल निर्माण गर्न लागिइएको हो । ताल निर्माणका लागि गाउँपालिकाले रु ९० लाख खर्च गरिसकेको अधिकृत भुसालले बताए ।

तालको वरिपरि फुटपाथ, उद्यान, वरिपरि विभिन्न पर्यटकीय संरचना र प्राकृतिक सौन्दर्य बनाइने उनले जानकारी दिए । पालिकाभित्रका पर्यटकीय सम्भावनाका स्थललाई पहिचान गरी गाउँपालिकाले पर्यटन विकासका नीति अगाडि बढाएको पालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताए । तालमा माछापालनसमेत गरिने छ ।

लामो समयदेखि घोलाका रूपमा रहेकाले यसको खासै महत्त्व थिएन तर अब ताल बनेपछि पर्यटन विकास हुने उनले जानकारी दिए । ताल निर्माणपछि पालिकाको आम्दानी स्रोत हुने अपेक्षा गरिएको छ । पहिलो चरणमा घोलाभित्र रहेका झाडी तथा फोहरलाई सफा गरिएको छ ।

गाउँपालिकाले पर्यटन विकासका लागि विभिन्न स्थलको पहिचान गर्ने काम गरिरहेको छ । पर्यटन विकासमार्फत आम्दानीका स्रोत व्यवस्थापन गर्ने गाउँपालिकाको उद्देश्य छ ।

प्रतिक्रिया दिनुहोस्