Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

सत्ताइस वर्षदेखि खानेपानी योजना अधुरै

५ कार्तिक २०८१, सोमबार १४:४२

५ कार्तिक,राजविराज। हनुमाननगर कङ्कालिनी नगरपालिका–७ स्थित हनुमानगर बजारमा २७ वर्षअघि निर्माण सुरु गएको खानेपानी आयोजना निर्माण अधुरै छ ।

स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यसहित तत्कालीन हनुमाननगर गाउँ विकास समितिको पहलमा स्थानीय स्वास्थ्य चौकी परिसरमा विसं २०५४ मा योजना निर्माण सुरु गरिएको थियो । योजनाको करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ ।

स्थानीय अमन यादवले २७ वर्ष भइसक्दा पनि एउटा आयोजना निर्माण गर्न नसक्नु लाजमर्दो विषय भएको बताए । उनले स्थानीय सरकार र निर्माण कम्पनीले तत्काल योजनाका बाँकी काम सम्पन्न गर्न आग्रह गरे ।

“देशमा थुप्रै परिवर्तन भए तर एउटा योजना निर्माण सुरु भएको २७ वर्षसम्म पनि बन्दैन भने योभन्दा लाजमर्दो कुरा के होला ? यदि आयोजना निर्माण भएमा यस क्षेत्रका दश हजारभन्दा बढी जनता लभान्वित हुने थिए । यसर्थ स्थानीय तह र सरोकारवाला मिलेर तत्काल काम अगाडि बढाउन पहल गर्नुपर्छ”, यादवले भने ।

स्थानीय बेचन खड्गाले नगरपालिकाले यसप्रति चासो नदिएकाले सङ्घीयता कार्यान्वयनपछि पनि काम अगाडि नबढ्नु दुःखद भएको बताए । नेपाली कांग्रेसका मधेस प्रदेश सचिवसमेत रहेक खड्गाले भने, “नगरपालिकालाई यहाँ शुद्ध खानेपानीका लागि योजनाको काम अगाडि बढाउन आग्रह गर्दा पनि हालसम्म काम सुरु भएको छैन ।  यसअघि नेतृत्वमा भएका जनप्रतिनिधि र निर्माण कम्पनीले पनि चासो देखाएनन् । त्यसै कारण नगरवासी २६/२७ वर्षदेखि शुद्ध खानेपानीबाट वञ्चित छौँ”, उनले भने ।

स्थानीय राजेन्द्र मिश्रले योजनाको ७५ प्रतिशत काम भएको भनिए पनि राजनीतिक खिचातानीकै कारण थप काम अगाडि बढ्न नसकेको बताए । “पानी ट्याङ्की निर्माण भइसकेको छ तर पाइपलाइन बिछ्याउने काम हुनसकेको छैन । जसकारण नगरवासी आर्सेनिकयुक्त ट्युबेल तथा चापाकलको पानी खान बाध्य छौँ”, उनले भने ।

करिब रु तीन करोडको लागतमा निर्माण थालिएको योजना पहिलो किस्तामा केही काम भएर १०/१५ वर्षदेखि राजनीतिक खिचातानीका कारण उपभोक्ता समिति नै गठन हुन सकेन । तत्कालीन खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष रहेका मोहम्मद सकिल अली हालै मधेस प्रदेशसभा सदस्य रहेका छन् । स्थानीय उनलाई पनि अधुरो काम अगाडि बढाउन पहिलकदमीका लागि आग्रह गरिरहेका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले धेरै दबाबका बिच रु २८ लाखमा काम गर्ने गरी बोलपत्र आह्वान गरी केही काम भए पनि पुनः अवरुद्ध भयो । दोस्रोपटक विसं २०७४ मा बोलपत्र अह्वान गरिएकामा शान्ति निर्माण सेवा फर्सेठले ठेक्का पाएर केही काम गरे पनि रु १३ लाख भुक्तानी नपाएको भन्दै उसले पनि काम अगाडि बढाएको छैन ।

प्रतिक्रिया दिनुहोस्