Trending
लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |    
समाचार

सत्ताइस वर्षदेखि खानेपानी योजना अधुरै

५ कार्तिक २०८१, सोमबार १४:४२

५ कार्तिक,राजविराज। हनुमाननगर कङ्कालिनी नगरपालिका–७ स्थित हनुमानगर बजारमा २७ वर्षअघि निर्माण सुरु गएको खानेपानी आयोजना निर्माण अधुरै छ ।

स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यसहित तत्कालीन हनुमाननगर गाउँ विकास समितिको पहलमा स्थानीय स्वास्थ्य चौकी परिसरमा विसं २०५४ मा योजना निर्माण सुरु गरिएको थियो । योजनाको करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ ।

स्थानीय अमन यादवले २७ वर्ष भइसक्दा पनि एउटा आयोजना निर्माण गर्न नसक्नु लाजमर्दो विषय भएको बताए । उनले स्थानीय सरकार र निर्माण कम्पनीले तत्काल योजनाका बाँकी काम सम्पन्न गर्न आग्रह गरे ।

“देशमा थुप्रै परिवर्तन भए तर एउटा योजना निर्माण सुरु भएको २७ वर्षसम्म पनि बन्दैन भने योभन्दा लाजमर्दो कुरा के होला ? यदि आयोजना निर्माण भएमा यस क्षेत्रका दश हजारभन्दा बढी जनता लभान्वित हुने थिए । यसर्थ स्थानीय तह र सरोकारवाला मिलेर तत्काल काम अगाडि बढाउन पहल गर्नुपर्छ”, यादवले भने ।

स्थानीय बेचन खड्गाले नगरपालिकाले यसप्रति चासो नदिएकाले सङ्घीयता कार्यान्वयनपछि पनि काम अगाडि नबढ्नु दुःखद भएको बताए । नेपाली कांग्रेसका मधेस प्रदेश सचिवसमेत रहेक खड्गाले भने, “नगरपालिकालाई यहाँ शुद्ध खानेपानीका लागि योजनाको काम अगाडि बढाउन आग्रह गर्दा पनि हालसम्म काम सुरु भएको छैन ।  यसअघि नेतृत्वमा भएका जनप्रतिनिधि र निर्माण कम्पनीले पनि चासो देखाएनन् । त्यसै कारण नगरवासी २६/२७ वर्षदेखि शुद्ध खानेपानीबाट वञ्चित छौँ”, उनले भने ।

स्थानीय राजेन्द्र मिश्रले योजनाको ७५ प्रतिशत काम भएको भनिए पनि राजनीतिक खिचातानीकै कारण थप काम अगाडि बढ्न नसकेको बताए । “पानी ट्याङ्की निर्माण भइसकेको छ तर पाइपलाइन बिछ्याउने काम हुनसकेको छैन । जसकारण नगरवासी आर्सेनिकयुक्त ट्युबेल तथा चापाकलको पानी खान बाध्य छौँ”, उनले भने ।

करिब रु तीन करोडको लागतमा निर्माण थालिएको योजना पहिलो किस्तामा केही काम भएर १०/१५ वर्षदेखि राजनीतिक खिचातानीका कारण उपभोक्ता समिति नै गठन हुन सकेन । तत्कालीन खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष रहेका मोहम्मद सकिल अली हालै मधेस प्रदेशसभा सदस्य रहेका छन् । स्थानीय उनलाई पनि अधुरो काम अगाडि बढाउन पहिलकदमीका लागि आग्रह गरिरहेका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले धेरै दबाबका बिच रु २८ लाखमा काम गर्ने गरी बोलपत्र आह्वान गरी केही काम भए पनि पुनः अवरुद्ध भयो । दोस्रोपटक विसं २०७४ मा बोलपत्र अह्वान गरिएकामा शान्ति निर्माण सेवा फर्सेठले ठेक्का पाएर केही काम गरे पनि रु १३ लाख भुक्तानी नपाएको भन्दै उसले पनि काम अगाडि बढाएको छैन ।

प्रतिक्रिया दिनुहोस्