Trending
एसईईमा ४.० जिपिए ल्याउने बाँकेकी सृजना डि.सी. पहिलो विद्यार्थी     |     विद्युत् प्राधिकरणद्वारा सात चार्जिङ स्टेसनलाई थप बजेट, १ करोडभन्दा बढी विनियोजन     |     सीजी इलेक्ट्रोनिक्सद्वारा ‘मेरिडिया ५५ इन्च क्यूएलईडी काराओके टीभी’ सार्वजनिक     |     धितोपत्र बजार पुँजीकरणमा रेकर्ड ब्रेक, ४४ खर्ब २३ अर्ब पुग्यो     |     प्रधानमन्त्रीसहितको टोली रसुवाको बाढीग्रस्त क्षेत्रमा जाँदै     |     खानेपानीको व्यवस्था गर्न नसक्ने खानेपानी मन्त्रालय खारेज गर्नुपर्ने प्रभु साहको सुझाव     |     मुख्यमन्त्री कँडेलले गुरुयोजना निर्माणलाई दिए प्राथमिकता     |     जाजरकोट डिभिजन वन प्रमुखमाथि कार्यकक्षमै हातपात     |     खानेपानीको माग गर्दै सुकुम्बासीले गरे आन्दोलनको घोषणा     |     गृहमन्त्रीसंग प्रभु साहको प्रश्न, ‘तपाईहरुको कमाण्डमा सुरक्षा निकाय छ की छैन ?’     |    
समाचार

बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन

६ कार्तिक २०८१, मंगलवार १४:४१

६ कार्तिक,बागलुङ। बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न थालिएको हो ।

किसानले आलुखेतीतर्फ चासो देखाउन थालेपछि कृषि ज्ञान केन्द्रले लगानी गर्दै आएको छ । बागलुङको तमानखोला, ताराखोला, निसीखोला र काठेखोला गाउँपालिका तथा ढोरपाटन नगरपालिकालगायत क्षेत्र आलु उत्पादनका लागि उपयुक्त रहेको हुँदा किसानलाई प्रोत्साहनसमेत गर्न थालिएको हो ।

गत वर्ष ज्ञान केन्द्रले नयाँ क्षेत्र विस्तारका लागि रु दुई करोड ६० लाख लगानी गरेको र चालु आर्थिक वर्ष रु एक करोड ५९ लाख लगानी गर्न थालेको हो । गत वर्ष गण्डकी प्रदेश सरकारले खायन आलुखेतीका लागि रु तीन करोड ६० लाख विनियोजन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए ।

गत वर्ष ज्ञान केन्द्रले एक सय ३६ हेक्टर नयाँ क्षेत्रमा आलु लगाएको र यस वर्ष थप क्षेत्र विस्तार गर्ने उनको भनाइ छ । बर्खे र हिउँदे गरी दुई याममा आलु उत्पादन हुने जिल्लामा बर्सेनि करोडौँ भित्रिने गरेको छ । प्रमुख सिलवालका अनुसार यस वर्ष आलु तीन हजार सात सय हेक्टरमा लगाइएको थियो ।

गत वर्षको तुलनामा बढी क्षेत्रफलमा आलु लगाए पनि उत्पादनमा ह्रास आउँदा ५६ हजार दुई सय ४० मेट्रिकटन मात्र आलु उत्पादन भएको प्रमुख सिलवालले बताए । चैत र वैशाख महिनामा लामो खडेरी पर्दा उत्पादनमा ह्रास आएको उनको भनाइ छ । गत वर्ष प्रतिहेक्टर १६ दशमलव पाँच टन आलु उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर १५ दशमलव दुई मेट्रिकटन मात्रै उत्पादन भएको सिवालले जानकारी दिए ।

उनले भने, “पछिल्लो समय बागलुङका किसानले आलुखेतीप्रति निकै चासो दिनुभएको छ, प्रदेश सरकारले पनि बर्सेनि बजेट विनियोजन गर्दै आएको छ, पहिले पुरानो शैलीमा खेती गर्ने किसानले अहिले आधुनिक प्रविधिको प्रयोग गर्दै जानुभएको छ, ज्ञान केन्द्रले अहिले किसानलाई तालिम, आवश्यक बीउ, यन्त्र उपकरण र प्राविधिक सहयोग गर्दै गएको छ ।”

बागलुङका किसानले उत्पादन गर्ने आलु बागलुङ, बुटवल, चितवनलगायत सहरमा पुग्ने गरेका छन् । किसानले हिउँदे आलु प्रतिकिलो रु ४० र बर्खे आलु प्रतिकिलो रु ५० मा बिक्री गर्दै आएका छन् । लामो समयको खडेरीका कारण अघिल्लो वर्षको तुलनामा झन्डै १५ प्रतिशत कम आलु उत्पादन भएको ढोरपाटन–९ का किसान झकेन्द्र विकले बताए । गत वर्ष करिब रु चार लाखको आलु बिक्री गरेकामा यस वर्ष रु दुई लाख ८० हजारको मात्रै बिक्री गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्