Trending
सीप विकासमार्फत आत्मनिर्भर बनाउने अभियानमा माँ भाटभटेनी संस्था     |     विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय     |     उज्वेकिस्तानमाथि कोलम्बियाको जित     |     यिरेन्कीको इन्जुरी टाइम गोलले घानाको जीत     |     इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित     |     पोर्चुगल र कंंगोको खेल बराबरीमा     |     व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश     |     झलनाथले मागे प्रचण्ड-माधवको राजीनामा     |     विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस     |     सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै     |    
समाचार

पाक्न लागेको धान असिनापानीले सखाप

७ कार्तिक २०८१, बुधबार १०:१७

७ कार्तिक,गलेश्वरआइतबार साँझ एकाएक भएको असिनासहितको वर्षाले म्याग्दीका विभिन्न ठाउँको धानखेतीमा असर परेको छ ।

कतिपय ठाउँ फूल खेल्दै गरेको, कतिपय ठाउँमा पाक्न लागेको तथा कतिपय ठाउँमा काटेर खेतमा नै सुकाएको धानमा असिनापानीले क्षति गरेको किसानले बताएका छन् ।

असिनापानीले धान बालीमा क्षति पुर्याएपछि कृषि प्राविधिकसहित जनप्रतिनिधिको टोली क्षतिको विवरण सङ्कलन गर्न किसानका खेतखेतमा पुगेका छन् । असिनापानीले सबैभन्दा बढी क्षति ज्यामरुककोटमा पु¥याएको बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए ।

“अहिले हामी क्षतिको विवरण सङ्कलन गर्न किसानका खेतखेतमा पुगेका छौँ, अधिकांश ठाउँमा धानको दाना झरेर पराल मात्र बाँकी रहेको भेटिएको छ, किसानहरु अहिले दाना झरेर बाँकी रहेको पराल काटिरहेका छन्, केही दिनभित्र क्षतिको पूरै विवरण सङ्कलन हुन्छ”, वडाअध्यक्ष कार्कीले भने ।

असिनापानीले जिल्लाको बेनी–२ ज्यामरुककोटको सानालेख, गौश्वारा, तमाने, फापरखेत, खबरा, बगरफाँट, वडा नं ३ भकिम्लीको तोराखेत, वडा नं १ को अर्जम, रत्नेचौरलगायत ठाउँमा काटेर खेतमा सुकाएको र काट्न बाँकी रहेको धानबालीमा क्षति पुर्याएपछि किसान चिन्तित बनेका बेनी नगरपालिका–२ का वडा सदस्यसमेत रहेका चन्द्रकान्त रिजालले बतए । उनका अनुसार असिनाले खेतमा रहेको धानको ८० प्रतिशत दाना झारेर नष्ट गरेको छ ।

रिजालका अनुसार असिनासहितको वर्षाले झाँट्नका लागि ठिक्क पारेको धान खेतमा नै झारिदिएको छ । त्यसैगरी, नकाटेको धानका बोट ढालेको छ । दाना सबै झरेर पराल मात्र बाँकी रहेको स्थानीय किसान सन्तबहादुर नेपालीले बताए । भित्र्याउने समयमा पानीले क्षति पुर्याइदिए पछि किसान चिन्तित अवस्थामा पुगेको बेनी–२ सानालेखका नारायण शर्माले बताए ।

“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उनले भने, “एक दुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने हो ?” जिल्लाको ज्यामरुककोट, खबरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायत ठाउँमा लगाएको क्षति पुगेको किसानले बताएका छन् ।

विगतमा पनि यही समयमा असिना र वर्षाका कारण क्षति बेहोर्दै आएका कृषक यस वर्ष पनि यही बेलामा क्षति भोग्न बाध्य भएका हुन् । विगतका वर्षको तुलनामा यस वर्ष अधिकांश ठाउँमा धानखेती निकै सप्रिएको र उत्पादन बढ्ने अनुमान गरिएकामा उच्च क्षेत्रमा भने असिनासहितको वर्षाले असर गरेको हो । “असिना र वर्षाले धान नै झारेको छ, चर्को हावाले ठाडो धान नै खेतैमा सुताएको छ”, बेनी–२ का कृषक मोहन कार्कीले भने, “पाक्ने बेलाको धानमा असिना परेपछि खेतमै झरेको छ ।”

कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख सञ्जीव वास्तोलाले जिल्लाका स्थानीय तहहरूले क्षतिको विवरण सङ्कलन गर्ने काम गरिरहेकाले एकीकृत तथ्याङ्क कार्यालयमा नआइपुगेको बताए ।  कृषकहरूले पनि सुरुमा स्थानीय तहमा नै गुहार्ने भएकाले ज्ञान केन्द्रमा क्षतिको विवरण नआएको भन्दै उनले जिल्लाका धेरै ठाउँमा धान खेतमै ढलेका भने देखिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्