Trending
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त     |     ढुंगा लागेर सल्यानमा एक जनाको मृत्यु     |     सुर्खेतमा नक्कली विवाहमार्फत ठगी गर्ने दुई जना पक्राउ     |     नेपाल–अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो : परराष्ट्रमन्त्री     |     सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन     |     एनपिएल खेल्न अष्ट्रेलियाका क्रिस लिन आउँदै !     |     पोस्टरसहित चलचित्र ‘जूबा’को घोषणा     |     यु–२३ एसियन कप छनोट: नेपालले आज ताजिकिस्तानसँग खेल्दै     |     सुनको मूल्य हालसम्मकै उच्च     |     नेपाल ‘ए’ टोलीले जित्यो आसामविरुद्धको सिरिज     |    
समाचार

पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाइ

७ कार्तिक २०८१, बुधबार १५:३५

७ कार्तिक, म्याग्दी। विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेको थोराङमा सरसफाइ गरिएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला प्रहरी कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको समन्वयमा समुन्द्री सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाइमा रहेको थोराङमा सरसफाइ गरिएको हो ।

वारागुङ मुक्तिक्षेत्र गाउँ कार्यपालिकाका प्रवक्ता प्रमेश गुरुङले मुक्तिनाथदेखि थोराङ फेदीदेखि थोराङ पाससम्म पदयात्रीहरूले फालेका फोहर सङ्कलन र व्यवस्थापन गरिएको जानकारी दिए ।

“पदयात्रीहरूको आकर्षण बढेको थोराङको आश्रयस्थलहरूमा थुप्रिएको पलास्टिक, सिसाजन्य फोहरका कारण प्रदूषण बढेपछि सरसफाइ गरिएको हो”, उनले भने, “कुहिने फोहरलाई खाडल खनेर गाडेका छौँ । पलास्टिक जन्य फोहरलाई जलाएर नष्ट गरेका छौँ । सिसा र धातुजन्य नकुहिने फोहर बोकेर मुक्तिनाथ ल्याएर व्यवस्थापन गरिएको छ ।” करिब २५ देखि ३० बोरा फोहर व्यवस्थापन गरिएको प्रवक्ता गुरुङले बताए ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङ, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीलगायत ४५ जना जनप्रतिनिधि, सुरक्षा अधिकारी, सुरक्षाकर्मी र स्थानीयवासीको टोलीले सरसफाइका लागि मङ्गलबार थोराङ पुगेर आज फर्किएको हो ।

सरसफाइ टोलीले पदयात्री र पथप्रर्दशकसँग फोहरको सुरक्षित व्यवस्थापनका लागि सचेतनामूलक कार्यक्रम गरेको थियो । अन्नपूर्ण संरक्षण आयोजनाले थोराङमा बनाएको फोहर राख्ने घर भरिएको छ ।

गण्डकी प्रदेशको लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला समेटिएको अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेकाले थोराङलाई साहसिक गन्तव्य मानिन्छ । मनमोहक हिमशृङ्खला, विविधतायुक्त भूगोल, संस्कृति, रहनसहन, धार्मिक तथा वस्तुकला अवलोकन गर्न पाउनु थोराङपासको विशेषता हुन् ।

आर्थिक वर्ष २०८०/८१ मा १३ हजार नौ सय १० जना विदेशी पर्यटकले थोराङ्ला पास गरेर मनाङ हुँदै मुस्ताङ आएका थिए । चालु आवको साउनदेखि असोज तेस्रो हप्तासम्म थोराङ्ला पार गरेर मुस्ताङ आउने विदेशी पर्यटकको सङ्ख्या दुई हजारभन्दा बढी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्