Trending
अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |    
समाचार

पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाइ

७ कार्तिक २०८१, बुधबार १५:३५

७ कार्तिक, म्याग्दी। विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेको थोराङमा सरसफाइ गरिएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला प्रहरी कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको समन्वयमा समुन्द्री सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाइमा रहेको थोराङमा सरसफाइ गरिएको हो ।

वारागुङ मुक्तिक्षेत्र गाउँ कार्यपालिकाका प्रवक्ता प्रमेश गुरुङले मुक्तिनाथदेखि थोराङ फेदीदेखि थोराङ पाससम्म पदयात्रीहरूले फालेका फोहर सङ्कलन र व्यवस्थापन गरिएको जानकारी दिए ।

“पदयात्रीहरूको आकर्षण बढेको थोराङको आश्रयस्थलहरूमा थुप्रिएको पलास्टिक, सिसाजन्य फोहरका कारण प्रदूषण बढेपछि सरसफाइ गरिएको हो”, उनले भने, “कुहिने फोहरलाई खाडल खनेर गाडेका छौँ । पलास्टिक जन्य फोहरलाई जलाएर नष्ट गरेका छौँ । सिसा र धातुजन्य नकुहिने फोहर बोकेर मुक्तिनाथ ल्याएर व्यवस्थापन गरिएको छ ।” करिब २५ देखि ३० बोरा फोहर व्यवस्थापन गरिएको प्रवक्ता गुरुङले बताए ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङ, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीलगायत ४५ जना जनप्रतिनिधि, सुरक्षा अधिकारी, सुरक्षाकर्मी र स्थानीयवासीको टोलीले सरसफाइका लागि मङ्गलबार थोराङ पुगेर आज फर्किएको हो ।

सरसफाइ टोलीले पदयात्री र पथप्रर्दशकसँग फोहरको सुरक्षित व्यवस्थापनका लागि सचेतनामूलक कार्यक्रम गरेको थियो । अन्नपूर्ण संरक्षण आयोजनाले थोराङमा बनाएको फोहर राख्ने घर भरिएको छ ।

गण्डकी प्रदेशको लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला समेटिएको अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेकाले थोराङलाई साहसिक गन्तव्य मानिन्छ । मनमोहक हिमशृङ्खला, विविधतायुक्त भूगोल, संस्कृति, रहनसहन, धार्मिक तथा वस्तुकला अवलोकन गर्न पाउनु थोराङपासको विशेषता हुन् ।

आर्थिक वर्ष २०८०/८१ मा १३ हजार नौ सय १० जना विदेशी पर्यटकले थोराङ्ला पास गरेर मनाङ हुँदै मुस्ताङ आएका थिए । चालु आवको साउनदेखि असोज तेस्रो हप्तासम्म थोराङ्ला पार गरेर मुस्ताङ आउने विदेशी पर्यटकको सङ्ख्या दुई हजारभन्दा बढी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्