Trending
रास्कोटका वडाध्यक्ष बराल बेपत्ता     |     नयाँदिल्लीमा किन पुगे आजपा अध्यक्ष प्रभु साह ?     |     एभरेष्ट महिला भलिबल लिग: मधेस, ललितपुर र कर्णालीको जित     |     नेपाल र बङ्गलादेशबीचको खेल बराबरीमा टुङ्गियो     |     कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त     |     ढुंगा लागेर सल्यानमा एक जनाको मृत्यु     |     सुर्खेतमा नक्कली विवाहमार्फत ठगी गर्ने दुई जना पक्राउ     |     नेपाल–अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो : परराष्ट्रमन्त्री     |     सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन     |     एनपिएल खेल्न अष्ट्रेलियाका क्रिस लिन आउँदै !     |    
समाचार

वीरगञ्ज नाकाबाट सवारीसाधन आयातमा कमी

१० कार्तिक २०८१, शनिबार ०४:४६

१० कार्तिक,पर्सा। वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधन आयातमा कमी आएको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्ग्रे सवारीसाधनको आयात ६० प्रतिशतले कमी आएको हो ।

वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ र विद्युतीय सवारीसाधन दूवैको आयातमा कमी भएको छ । चालु आवको असोज मसान्तसम्म ४० करोड ४७ लाख ६३ हजार मूल्यपर्ने दुई सय १५ वटा जीप, कार र भ्यान आयात भएका छन् । गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा ६६ दशमलव ०९ प्रतिशतले घटेको हो । राजस्व सङ्कलनका आधारमा भने ४९ दशमलव ९३ प्रतिशतले कमी भएको हो ।

वीरगञ्ज भन्सार कार्यालय प्रमुख दीपक लामिछानेले चारपाङ्ग्रे सवारीसाधन वीरगञ्ज नाकाभन्दा अन्य नाकाबाट भित्र्याउने क्रम बढेको बताए । ‘व्यवसायीले  जुनसुकै नाकाबाट सवारीसाधन भित्र्याए पनि समग्रमा राजस्व मुलुकभित्रै भित्रिने हो,’ उनले भने, ‘चालु आवको साउन र भदौ महिनाको तुलनामा वीरगञ्ज भन्सार कार्यालयले सङ्कलन गर्ने समग्र राजस्वमा वृद्धि भएको छ ।’

गत आवको तीन महिनामा रु ९० करोड ५७ लाख १६ हजार मूल्यपर्ने छ सय ३४ वटा जीप, कार र भ्यान आयात गरिएको थियो । पेट्रोलियम पदार्थबाट चल्ने चारपाङग्रे सवारीसाधन मात्र नभएर गत आवको तीन महिनामा चालु आवको सोही अवधिमा विद्युतीय कार, जीप र भ्यानको आयातमा कमी आएको हो ।

चालु आवको तीन महिनामा वीरगञ्ज नाकाहुँदै रु नौ करोड ७७ लाख ९० हजार मूल्यपर्ने ६७ वटा मात्रै विद्युतीय कार, जीप र भ्यान आयात भएको छ । प्रमुख भन्सार प्रशासक लामिछानेले विद्युतीय सवारीसाधन वीरगञ्ज नाकाको तुलनामा उत्तरी नाकाबाट धेरै भित्रिने गरेको बताए ।

गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा विद्युतीय सवारीसाधनको आयात परिमाणको हिसाबले ६४ दशमलव ७४ प्रतिशतले घटेको हो । सोही अवधिमा विद्युतीय सवारीसाधनको आयातबाट हुने राजस्व सङ्कलनमा ५९ दशमलव ६७ प्रतिशतले कमी आएको छ । गत आवको सोही अवधिमा रु ३५ करोड नौ लाख ९४ हजार मूल्यपर्ने एक सय ९० वटा विद्युतीय सवारीसाधन आयात भएको थियो ।

चालु आवको तीन महिनामा रु सात करोड ३२ लाख १७ हजार मूल्य पर्ने ३२ वटा ट्रक र मिनि ट्रक आयात भएको छ । गत आवको तुलनामा ६३ दशमलव ६४ प्रतिशतले आयात घटेको हो । गत आवको सोही अवधिमा ट्रक र मिनि ट्रक रु २० करोड १३ लाख १२ हजार मूल्य पर्ने ८८ वटा भित्रिएका थिए । चालु आवको तीन महिनामा पिकअप तथा डेलिभरी भ्यानको आयात पनि घटेको छ । चालु आवको तीन महिनामा रु नौ करोड ७५ लाख तीन हजार मूल्य पर्ने ६८ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्