Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

वीरगञ्ज नाकाबाट सवारीसाधन आयातमा कमी

१० कार्तिक २०८१, शनिबार ०४:४६

१० कार्तिक,पर्सा। वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधन आयातमा कमी आएको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्ग्रे सवारीसाधनको आयात ६० प्रतिशतले कमी आएको हो ।

वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ र विद्युतीय सवारीसाधन दूवैको आयातमा कमी भएको छ । चालु आवको असोज मसान्तसम्म ४० करोड ४७ लाख ६३ हजार मूल्यपर्ने दुई सय १५ वटा जीप, कार र भ्यान आयात भएका छन् । गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा ६६ दशमलव ०९ प्रतिशतले घटेको हो । राजस्व सङ्कलनका आधारमा भने ४९ दशमलव ९३ प्रतिशतले कमी भएको हो ।

वीरगञ्ज भन्सार कार्यालय प्रमुख दीपक लामिछानेले चारपाङ्ग्रे सवारीसाधन वीरगञ्ज नाकाभन्दा अन्य नाकाबाट भित्र्याउने क्रम बढेको बताए । ‘व्यवसायीले  जुनसुकै नाकाबाट सवारीसाधन भित्र्याए पनि समग्रमा राजस्व मुलुकभित्रै भित्रिने हो,’ उनले भने, ‘चालु आवको साउन र भदौ महिनाको तुलनामा वीरगञ्ज भन्सार कार्यालयले सङ्कलन गर्ने समग्र राजस्वमा वृद्धि भएको छ ।’

गत आवको तीन महिनामा रु ९० करोड ५७ लाख १६ हजार मूल्यपर्ने छ सय ३४ वटा जीप, कार र भ्यान आयात गरिएको थियो । पेट्रोलियम पदार्थबाट चल्ने चारपाङग्रे सवारीसाधन मात्र नभएर गत आवको तीन महिनामा चालु आवको सोही अवधिमा विद्युतीय कार, जीप र भ्यानको आयातमा कमी आएको हो ।

चालु आवको तीन महिनामा वीरगञ्ज नाकाहुँदै रु नौ करोड ७७ लाख ९० हजार मूल्यपर्ने ६७ वटा मात्रै विद्युतीय कार, जीप र भ्यान आयात भएको छ । प्रमुख भन्सार प्रशासक लामिछानेले विद्युतीय सवारीसाधन वीरगञ्ज नाकाको तुलनामा उत्तरी नाकाबाट धेरै भित्रिने गरेको बताए ।

गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा विद्युतीय सवारीसाधनको आयात परिमाणको हिसाबले ६४ दशमलव ७४ प्रतिशतले घटेको हो । सोही अवधिमा विद्युतीय सवारीसाधनको आयातबाट हुने राजस्व सङ्कलनमा ५९ दशमलव ६७ प्रतिशतले कमी आएको छ । गत आवको सोही अवधिमा रु ३५ करोड नौ लाख ९४ हजार मूल्यपर्ने एक सय ९० वटा विद्युतीय सवारीसाधन आयात भएको थियो ।

चालु आवको तीन महिनामा रु सात करोड ३२ लाख १७ हजार मूल्य पर्ने ३२ वटा ट्रक र मिनि ट्रक आयात भएको छ । गत आवको तुलनामा ६३ दशमलव ६४ प्रतिशतले आयात घटेको हो । गत आवको सोही अवधिमा ट्रक र मिनि ट्रक रु २० करोड १३ लाख १२ हजार मूल्य पर्ने ८८ वटा भित्रिएका थिए । चालु आवको तीन महिनामा पिकअप तथा डेलिभरी भ्यानको आयात पनि घटेको छ । चालु आवको तीन महिनामा रु नौ करोड ७५ लाख तीन हजार मूल्य पर्ने ६८ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्