Trending
रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा     |     ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित     |     जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु     |     प्रहरीमा चार वटा विभाग एआईजीविहीन, ९ जना डीआईजीको प्रतिस्पर्धा     |     बौद्धको खुकुरी प्रहार घटनामा फरार भएका तीन जना पक्राउ     |     वीरेन्द्रनगरमा प्रदेशस्तरीय युवा मानवअधिकार रक्षक सम्मेलन सम्पन्न     |     जुम्ला जिल्ला समन्वय समिति परिसरमा सकेट बम फेला     |     पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै     |     कोशी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |    
समाचार

अन्नपूर्ण आधार शिविर पदमार्गमा संरचना अभाव

११ कार्तिक २०८१, आईतवार ०७:११

११ कार्तिक,म्याग्दी । तीन वर्ष अघिसम्म सुनसान देखिने म्याग्दीको प्रथम अन्नपूर्ण आधार शिविर पदमार्गमा अहिले दैनिक तीन सय बढी पर्यटक ओहोरदोहोर गर्न थालेपछि भौतिक संरचनाको अभाव भएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने प्रथम अन्नपूर्ण हिमालको आधार शिविरसम्म जाने र फर्कने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएपछि मौजुदा संरचना अपुग भएका र थप संरचनाको आवश्यकता भएको हो ।

पछिल्लो समय अत्यधिक स्वदेशी पर्यटक पुग्ने गन्तव्य प्रथम अन्नपूर्ण हिमालको शिविर बन्दै गएको छ । तीन वर्षअघिसम्म करिब सुनसानजस्तै हुने पदमार्गमा अहिले दैनिक तीन सयका हाराहारीमा पर्यटक पुग्ने गरेका पर्यटन अभियन्ता तेज गुरुङले बताए ।

“अन्नपूर्ण आधार शिविर पदमार्गमा खचाखच पर्यटक देखेर नारच्याङवासीसमेत दङ्ग छन् । पर्यटकको चहलपहल बढेको छ । त्यहाँ बनाइएका संरचनामा बस्ने ठाउँ पनि हुँदैन । टेन्टसहित पुगेकालाई सहज हुन्छ, अरुले कष्ट सहेरै भए पनि पदयात्रा पूरा गर्नुपर्ने बाध्यता छ”, उनले भने । खान र बस्ने होटलसहितको सुविधा भए अन्नपूर्ण बेसक्याम्प जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य बन्ने पर्यटन व्यवसायी बताउँछन् ।

“म्याग्दीको पहिलो गन्तव्य भनेकै अन्नपूर्ण बेसक्याम्प हुन्छ । अब स्वदेशी पर्यटक हिमालको काखमा गएर रमाउनेलाई यो नेपालकै एक उत्कृष्ट गन्तव्य हो”, केही दिनअघि अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका बेनीका छवि आचार्यले बताए ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको मुख्य आधार शिविरबाट हिमाल आरोहण गर्ने क्षेत्र, आधार शिविर तथा पञ्चकुण्ड तालसहित पदमार्गमा रहेको फुतफुते ताल, गुफा, झरनासहितका सुन्दर दृष्यावलोकन गर्न पाइन्छ । अन्नपूर्ण–३ नारच्याङको हुमखोलाबाट सुरु हुने मौरिस हर्जोग पदमार्ग अन्नपूर्ण आरोहण ट्रेक हुँदै दुई दिनको यात्रापछि अन्नपूर्णको आधार शिविर पुग्न सकिन्छ ।

मिश्रीखोलाको किनारैकिनार निर्माण गरिएको पदमार्गका यात्रामा मनोरम प्राकृतिक सुन्दरताको अवलोकनका साथै हिमनदी र झरनाले पर्यटकलाई आकर्षित गर्छ । यो बेनीबाट छोटो दूरीमा पर्ने आकर्षक पर्यटकीय गन्तव्य हो । गत वर्षको भन्दा यस वर्ष अन्नपूर्ण आधार शिविरको भ्रमण गर्ने पर्यटकको सङ्ख्या छ गुणा बढेको छ । पर्यटकको सुविधाका लागि बेसक्याम्पमा सुविधासम्पन्न होटल, लज, सञ्चारको सुविधा र बीच बाटोमा टीहाउसलगायत पूर्वाधार बनाउन बजेटसहितको तयारी गरिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्