Trending
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय     |     उज्वेकिस्तानमाथि कोलम्बियाको जित     |     यिरेन्कीको इन्जुरी टाइम गोलले घानाको जीत     |     इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित     |     पोर्चुगल र कंंगोको खेल बराबरीमा     |     व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश     |     झलनाथले मागे प्रचण्ड-माधवको राजीनामा     |     विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस     |     सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै     |     प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |    
समाचार

अन्नपूर्ण आधार शिविर पदमार्गमा संरचना अभाव

११ कार्तिक २०८१, आईतवार ०७:११

११ कार्तिक,म्याग्दी । तीन वर्ष अघिसम्म सुनसान देखिने म्याग्दीको प्रथम अन्नपूर्ण आधार शिविर पदमार्गमा अहिले दैनिक तीन सय बढी पर्यटक ओहोरदोहोर गर्न थालेपछि भौतिक संरचनाको अभाव भएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने प्रथम अन्नपूर्ण हिमालको आधार शिविरसम्म जाने र फर्कने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएपछि मौजुदा संरचना अपुग भएका र थप संरचनाको आवश्यकता भएको हो ।

पछिल्लो समय अत्यधिक स्वदेशी पर्यटक पुग्ने गन्तव्य प्रथम अन्नपूर्ण हिमालको शिविर बन्दै गएको छ । तीन वर्षअघिसम्म करिब सुनसानजस्तै हुने पदमार्गमा अहिले दैनिक तीन सयका हाराहारीमा पर्यटक पुग्ने गरेका पर्यटन अभियन्ता तेज गुरुङले बताए ।

“अन्नपूर्ण आधार शिविर पदमार्गमा खचाखच पर्यटक देखेर नारच्याङवासीसमेत दङ्ग छन् । पर्यटकको चहलपहल बढेको छ । त्यहाँ बनाइएका संरचनामा बस्ने ठाउँ पनि हुँदैन । टेन्टसहित पुगेकालाई सहज हुन्छ, अरुले कष्ट सहेरै भए पनि पदयात्रा पूरा गर्नुपर्ने बाध्यता छ”, उनले भने । खान र बस्ने होटलसहितको सुविधा भए अन्नपूर्ण बेसक्याम्प जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य बन्ने पर्यटन व्यवसायी बताउँछन् ।

“म्याग्दीको पहिलो गन्तव्य भनेकै अन्नपूर्ण बेसक्याम्प हुन्छ । अब स्वदेशी पर्यटक हिमालको काखमा गएर रमाउनेलाई यो नेपालकै एक उत्कृष्ट गन्तव्य हो”, केही दिनअघि अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका बेनीका छवि आचार्यले बताए ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको मुख्य आधार शिविरबाट हिमाल आरोहण गर्ने क्षेत्र, आधार शिविर तथा पञ्चकुण्ड तालसहित पदमार्गमा रहेको फुतफुते ताल, गुफा, झरनासहितका सुन्दर दृष्यावलोकन गर्न पाइन्छ । अन्नपूर्ण–३ नारच्याङको हुमखोलाबाट सुरु हुने मौरिस हर्जोग पदमार्ग अन्नपूर्ण आरोहण ट्रेक हुँदै दुई दिनको यात्रापछि अन्नपूर्णको आधार शिविर पुग्न सकिन्छ ।

मिश्रीखोलाको किनारैकिनार निर्माण गरिएको पदमार्गका यात्रामा मनोरम प्राकृतिक सुन्दरताको अवलोकनका साथै हिमनदी र झरनाले पर्यटकलाई आकर्षित गर्छ । यो बेनीबाट छोटो दूरीमा पर्ने आकर्षक पर्यटकीय गन्तव्य हो । गत वर्षको भन्दा यस वर्ष अन्नपूर्ण आधार शिविरको भ्रमण गर्ने पर्यटकको सङ्ख्या छ गुणा बढेको छ । पर्यटकको सुविधाका लागि बेसक्याम्पमा सुविधासम्पन्न होटल, लज, सञ्चारको सुविधा र बीच बाटोमा टीहाउसलगायत पूर्वाधार बनाउन बजेटसहितको तयारी गरिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्