Trending
अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |    
समाचार

विपद्ले लम्बिए निर्माणाधीन बृहत् खानेपानी आयोजना

१३ कार्तिक २०८१, मंगलवार ०९:११

१३ कार्तिक, काभ्रे। काभ्रेपलाञ्चोकमा दुई स्थानीय तहमा सञ्चालित बृहत् खानेपानी आयोजनामा गत महिनाको बाढीपहिरोले ठूलो क्षति पुर्‍यायो ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाको बाढीपहिराले तेमाल गाउँपालिका र पाँचखाल नगरपालिकामा सञ्चालित निर्माणाधीन खानेपानी आयोजनामा क्षति पुगेपछि समयमै सम्पन्न गर्ने लक्ष्य पूरा हुन नसक्ने हुँदा तोकिएको समयमा स्थानीय नागरिकले खानेपानी उपभोग गर्नबाट वञ्चित बन्न पुगेका हुन् ।

तेमालमा ५५ हजार स्थानीयका लागि सञ्चालित खानेपानी आयोजनाको प्रारम्भिक मूल्याङ्कनअनुसार रु आठ करोडका संरचनामा क्षति पुगेको जनाइएको छ । उपभोक्ता समितिका अनुसार खानेपानीको स्रोतका रुपमा रहेका मुहान क्षेत्र सुनकोशी नदी किनारमा एउटा मुख्य ट्याङ्की पूर्ण रुपमा पुरिएको छ ।

समितिका अध्यक्ष सङ्ग्रामजित लामाले लिफ्टिङका लागि राखिएको एक ट्रान्सफर्मर, तीन गार्ड घर, बिजुलीका १५ वटा खम्बा, चारवटा वितरण ट्याङ्कीमा क्षति पुगेको छ भने एक हजार तीन सय मिटर जिआईका मुख्य पाइपलाइनमा क्षतिग्रस्त भएको तथा बिजुलीका संरचना सबै ध्वस्त भएको जानकारी दिए । उनका अनुसार विभिन्न बस्तीमा लगिएका पाइपलाइनमा पनि क्षति पुगेको छ ।

सो आयोजना पुनःनिर्माण एवं मर्मत–सुधार गर्नका लागि आयोजनासँग बजेट प्राप्तिका लागि प्रशासनिक कार्य सुरु गरिएको लामाले बताए । “प्राविधिकसहित प्रत्येक संरचनाको क्षति मूल्याङ्कन गर्ने कार्य भर्खरै सुरु गरेका छौँ, यकिन क्षति विवरण भने आउन बाँकी नै छ”, उनले भने ।

आयोजना सम्पन्न गर्न थपिएको समयसीमामा लक्षित समुदायमा पानी वितरण गर्ने सम्पूर्ण तयारी भइसकेको अवस्थामा बाढीपहिराले आयेजनामा क्षति पुगेको लामाको भनाइ छ । लामाले गत साउनमा सक्नुपर्ने आयोजना केही प्राविधिक कारण असोजसम्म लम्बिएको थियो । उनले भने, “विपद्ले झन् तहसनहस बनाइदियो, अब कहिलेसम्म बनाइसक्ने हो, आधाकारिक मूल्याङ्कनपछि मात्रै थाहा हुनेछ ।”

गत वर्षको चैतमै समयसीमाभित्र उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउने लक्ष्य लिइए पनि निर्माण कम्पनीले भुक्तानी नपाएको भन्दै काम रोकेपछि गत साउनसम्म लम्ब्याइएको थियो । खानेपानी मन्त्रालयबाट करिब रु पाँच करोड भुक्तानी नपाएको जनाउँदै कम्पनीले महिनौँदेखि निर्माणको काममा आलटाल गरेको उपभोक्ता समितिले जनाएको छ । उक्त आयोजना आठ वर्षअघि कालिका–सिएबी जेभी नामक निर्माण कम्पनीले २०७८ मा सक्ने गरी ठेक्का लिएको थियो ।

यसअघि आयोजनालाई कोरोनाको दुई लहर र २०८० साउनमा सुनकोशी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुर्‍याउँदा सो आयोजना करिब एक वर्ष धकेलिएको थियो । लामाले आयोजनाको ९९ प्रतिशत काम सकिएको बताए । उनका अनुसार आयोजनाको पानी प्रशोधनको काम भएको छभने पहिलो चरणमा करिब तीन हजार पाँच सय उपभोक्तालाई घरमा पानी पुर्‍याइसकिएको थियो ।

उनका अनुसार २३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको, मुख्य पाइपलाइन र शाखा लाइनमा पाइप बिछ्याउने तथा घरघरमा धाराका सामग्री वितरण कार्यसमेत सकिएको थियो । साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्