Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

मनाइयो काग तिहार

१५ कार्तिक २०८१, बिहीबार ०२:५२

१५ कार्तिक, काठमाडौँ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई पूजा गरी मीठामीठा खान दिएर मनाइएको छ ।

काग तिहार पर्वदेखि हिन्दू धर्मावलम्बीको दोस्रो चाड यमपञ्चक (तिहार) सुरु हुने भए पनि यसवर्ष तिथिको घटबढका कारण मङ्गलबारदेखि नै यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म तिहार मनाउने गरिन्छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठामीठा खानेकुरा दिई खुसी पार्ने परम्परा रहेको उनले बताए ।

लोक व्यवहारमा काग घरमा आई कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्ने प्रचलन समेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससहित तिहार पर्वअन्तर्गत आज कागको पूजा गर्ने परम्परा गाँसिएको प्रा अधिकारीले बताए । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यमदीप दान दिने क्रम भने आज साँझदेखि सुरु हुन्छ । यमदीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन हिन्दू धार्मिक विधि छ ।

मङ्गलबारदेखि कार्तिक कृष्ण त्रयोदशी सुरु भएकाले आज बिहान पहिलो प्रहरमा कागलाई पूजासहित मीठामीठा चीजबीज खान दिएर सम्मान गरिएको हो । यमपञ्चकको पहिलो दिन काग तिहार पर्व मनाइने गरिन्छ । यसवर्ष तिथिको घटबढका कारण मङ्गलबार यमपञ्चक सुरु भएकामा आज काग तिहार पर्व मनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्