Trending
नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |    
समाचार

मनाइयो काग तिहार

१५ कार्तिक २०८१, बिहीबार ०२:५२

१५ कार्तिक, काठमाडौँ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई पूजा गरी मीठामीठा खान दिएर मनाइएको छ ।

काग तिहार पर्वदेखि हिन्दू धर्मावलम्बीको दोस्रो चाड यमपञ्चक (तिहार) सुरु हुने भए पनि यसवर्ष तिथिको घटबढका कारण मङ्गलबारदेखि नै यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म तिहार मनाउने गरिन्छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठामीठा खानेकुरा दिई खुसी पार्ने परम्परा रहेको उनले बताए ।

लोक व्यवहारमा काग घरमा आई कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्ने प्रचलन समेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससहित तिहार पर्वअन्तर्गत आज कागको पूजा गर्ने परम्परा गाँसिएको प्रा अधिकारीले बताए । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यमदीप दान दिने क्रम भने आज साँझदेखि सुरु हुन्छ । यमदीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन हिन्दू धार्मिक विधि छ ।

मङ्गलबारदेखि कार्तिक कृष्ण त्रयोदशी सुरु भएकाले आज बिहान पहिलो प्रहरमा कागलाई पूजासहित मीठामीठा चीजबीज खान दिएर सम्मान गरिएको हो । यमपञ्चकको पहिलो दिन काग तिहार पर्व मनाइने गरिन्छ । यसवर्ष तिथिको घटबढका कारण मङ्गलबार यमपञ्चक सुरु भएकामा आज काग तिहार पर्व मनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्