Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

तुलाधर जनप्रिय नेताका रूपमा समेत स्थापित हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

१५ कार्तिक २०८१, बिहीबार ०३:०५

१५ कार्तिक,काठमाडौँ। नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनःबहालीका लागि अनवरत योगदान पुर्‍याएका स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको योगदानको स्मरण गरिएको छ ।

नेपाल भाषाका साहित्यकारका रूपमा निरङ्कुश शासनका विरुद्ध तथा स्थापनाका लागि साहित्य सिर्जना गरी जनता माझ जागरण ल्याउन उनले पुर्‍याएको योगदानको चर्चा गरिएको हो ।

‘पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान’द्वारा मङ्गलबार काठमाडौँको शङ्खधर उद्यानमा आयोजित छैटौँ स्मृति सभामा मानवअधिकार, शान्ति, मातृभाषा तथा साहित्यकारका रुपमा योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरियो । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बहुआयामिक व्यक्तित्वका धनी पद्मरत्न साहित्यकार, प्रहसन, हास्य व्यङ्ग्यकार तथा जनप्रिय नेताका रूपमा स्थापित रहेका बताए ।

उनले भने, “हाम्रो अत्यन्तै आदरणीय मित्र पद्मरत्नजी कला, संस्कृति, साहित्य र राजनीति आन्दोलनका क्षेत्रबाट बोलेर वा लेखेर प्रस्तुत गर्नुभएका राम्रा र सही विचार हामी सबै मिलेर अघि बढाउनुपर्छ ।”

आन्दोलन र जेलमा मात्र होइन मन्त्री र विभिन्न मोर्चामा रही सहकार्य गरेको घटना सुनाउँदै प्रधानमन्त्री ओलीले आन्दोलनलाई सफलतामा पुर्‍याउने र विट मार्ने सम्मको यात्राको सहकार्य गरेको नेपाली राजनीतिज्ञ तथा अग्रज व्यक्तिका रूपमा पद्मरत्न रहनुभएको बताए ।

त्यसअवसरमा तुलाधरकी छोरी सुम्निमा तुलाधरले पद्मरत्न आफना पिता मात्र नभई नेपाली जनताको मुक्तिका निम्ति अग्रसर नेताका रूपमा रहेका स्मरण समेत गरे । पद्मरत्न लुमन्ति गुथिका अध्यक्ष डा. केशवमान शाक्यले प्रजातन्त्रको पुनः बहालीको जनआन्दोलनमा प्रजातान्त्रिक र वामपन्थी शक्तिलाई एउटै मोर्चामा रहन उनले गर्नुभएको योगदानको स्मरण समेत गरे ।

नेपाल भाषाको साहित्य लेखनमा नाटक र प्रहसन विधामा विशिष्ट योगदान पुर्‍याएका तुलाधर नेपाल जनजाति महासङ्घका सभापतिसमेत भएका थिए ।

दश वर्ष माओवादी सशस्त्र द्वन्दका बखत माओवादीलाई शान्ति वार्तामा ल्याउन सहजकर्ताका भूमिका खेलेका तुलाधरको २०७५ कात्तिक १८ गते निधन भएको थियो । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका उनको जन्म १९९७ माघ २९ गते काठमाडौँमा भएको हो । त्यस अवसरमा नेपाली साहित्यका धरोहर साहित्यकार कवि दुर्गालाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्