Trending
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय     |     उज्वेकिस्तानमाथि कोलम्बियाको जित     |     यिरेन्कीको इन्जुरी टाइम गोलले घानाको जीत     |     इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित     |     पोर्चुगल र कंंगोको खेल बराबरीमा     |     व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश     |     झलनाथले मागे प्रचण्ड-माधवको राजीनामा     |     विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस     |     सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै     |     प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |    
समाचार

सडक खुलेको २५ वर्षपछि स्तरोन्नति

१५ कार्तिक २०८१, बिहीबार १३:५४

१५ कार्तिक, बागलुङ । बागलुङ सदरमुकाम बागलुङ बजारदेखि नजिकै रहेको काठेखोला गाउँपालिका–३ धम्जा देराली जोड्ने सडक स्तरोन्नति गर्न थालिएको छ ।

पच्चीस वर्षअगाडि ‘ट्र्याक’ खुलेको सडकको यसै वर्ष स्तरोन्नति गर्न थालिएको हो । स्तरोन्नतिका ठेक्का प्रक्रिया अगाडि बढेको छ ।

मध्यपहाडी लोकमार्गको काठेखोलादेखि डुडियाँ–तङ्ग्राम–धम्जा देउरालीसम्मको १८ किलोमिटर सडक स्तरोन्नति गरिने सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर अमर अधिकारीले जानकारी दिए । सङ्घीय सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ९६ लाख ५३ हजार पाँच सय २३ लागतमा सडक फराकिलो, नाली निर्माण र ग्रोभेलिङ गरिने उनको भनाइ छ ।

साढे दुई दशकसम्म सडक स्तरोन्नति नहुँदा काठेखोलाको वडा नम्बर ३, ४ र ताराखोला गाउँपालिकाका हजारौँ नागरिकले सास्ती खेप्नु परेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए । दुई वर्षअगाडि गण्डकी प्रदेश सरकार र गाउँपालिकाको रु एक करोड लागतमा सडकको विभिन्न खण्डमा काम भएको उनको भनाइ छ ।

उनले भने, “सडक खुलेको लामो समय बित्यो, यतिका समयसम्म सडकको स्तरोन्नति नहुँदा नागरिकले सास्ती खेप्नुपरेको थियो, अब सहज हुँदै जानेछ, गाउँपालिकाले सामान्य रूपमा साँघुरो ठाउँमा फराकिलो बनाउने र भत्किएको स्थानमा पर्खाल लगाएर निरन्तर गाडी सञ्चालन हुने गराउँदै आएका थियौँ, अब पक्की नालीसहित ग्राभेलिङ हुनेछ, जसले यातायातका साधान चल्न समस्या हुनेछैन ।”

काठेखोला–४ का स्थानीय प्रेमबहादुर पुनले सदरमुकाम नजिकको गाउँ जोड्ने सडक अहिलेसम्म स्तरोन्नति नहुँदा सास्ती खेप्नुपरेको बताए । हिउँदमा धुलो उडाउँदै गाडी चले पनि बर्खाको सडक सञ्चालन नहुने उनको भनाइ छ । उनले वर्षौंदेखि तङ्ग्राम र धम्जाका स्थानीय धुलो र हिलोमा सास्ती खेप्दै यात्रा गरेको स्मरण गरे ।

स्थानीय कुलबहादुर विकले बर्खाको समयमा गाउँमा कोही अपरझट बिरामी परे ढोकोमा बोकेर अस्पताल लैजानुको विकल्प नभएको सुनाए । बर्खाका झन्डै तीन महिना पहिरोले सडक बन्द हुँदै बजार जोड्ने मुख्य सडक स्तरोन्नतिपछि यात्रा गर्न र सामान ढुवानीमा सहज हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्