Trending
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय     |     उज्वेकिस्तानमाथि कोलम्बियाको जित     |     यिरेन्कीको इन्जुरी टाइम गोलले घानाको जीत     |     इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित     |     पोर्चुगल र कंंगोको खेल बराबरीमा     |     व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश     |     झलनाथले मागे प्रचण्ड-माधवको राजीनामा     |     विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस     |     सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै     |     प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |    
समाचार

देशको प्रतिष्ठा बढाउन नेवारी संस्कृतिको असाधारण योगदान छ : प्रधानमन्त्री ओली

१७ कार्तिक २०८१, शनिबार ०९:३६

१७ कार्तिक, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रतिष्ठा बढाउन नेपाल भाषा, सभ्यता र संस्कृतिको असाधारण योगदान रहेको बताएका छन् ।

नेपाल संवत् ११४५ का अवसरमा ‘नेपाल संवत् ११४५ मूल समारोह समिति’ले वसन्तपुरमा आज आयोजना गरेको कार्यक्रममा उनले भने, “नेपालले आफ्नो परिचय बनाउन संस्कृति, कला, मूर्तिकला, काष्ठकला र चित्रकला नृत्यकला, वाद्यवादन र गायनलगायत विधाले योगदान गरेका छन्, यी सबैमा मौलिकता छ, मुलुकको सबैभन्दा समृद्ध मौलिकता नेपाल भाषा र संस्कृतिमा छ ।”

प्रधानमन्त्री ओलीले नेवारी संस्कृति र भाषा नेपालको एक समृद्धि संस्कृति र विशेष पहिचानको विषय बनेको चर्चा गर्दै नेपाल संवत्लाई कामकाजका भाषाका रुपमा प्रभावकारी कार्यान्वयन, राष्ट्रिय विभूति शङ्खधर साख्वाका विषयमा अध्ययन अनुसन्धान र कक्षा ९ र १० को ऐच्छिक विषयका रुपमा नेपाल भाषालाई पनि समावेश गर्ने जस्ता यस क्षेत्रका मागका विषयमा सरकारको ध्यान जाने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपाल संवत् मूल समारोह समिति आयोजनाका लागि सहयोगस्वरुप विगतमा आफूू हुँदा थालनी भएको र बीचका केही वर्ष रोकिएको रु १० लाखमा वृद्धि गरी यस वर्ष सरकारले रु १५ लाख रकम दिएको जानकारी पनि गराए ।

मुलुक भौगोलिक विविधता, वनस्पतीय विविधता, जैविक विविधता, सामाजिक विविधता, भाषिक विविधता र सांस्कृतिक विविधतायुक्त भएको बताउँदै प्रधानमन्त्रीले यी सबै विविधतामध्ये समृद्ध संस्कृति नेवार संस्कृति भएको उल्लेख गरे । उनले नेवार संस्कृति कुनै एउटा जाति विशेषको मात्र नभएर सिङ्गो देशको संस्कृति भएको बताए ।

प्रधानमन्त्रीले मुलुकका मौलिक, भाषा, संस्कृति र साहित्यको विकासका खातिर राष्ट्रिय समाचार समिति, रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र र नेपाल भाषामा समाचार तथा विविध कार्यक्रम प्रकाशन एवं प्रसारण गर्दै आएका जानकारी दिए । प्रधानमन्त्रीले सरकार गरिबको सुखदुःखको साथी बन्दै आएको बताउँदै भने, “जो गरिब छ, जो ऋणी छ, उसलाई ऋणमुक्त गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्