Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

पर्वतमा देउसी भैलोप्रतिको आकर्षण बढ्दै

१८ कार्तिक २०८१, आईतवार ०२:०६

१८ कार्तिक, पर्वत। नेपालीहरूको दोस्रो ठुलो पर्व तिहारको अवसरमा पर्वतमा देउसीभैलो खेल्नेहरूको आकर्षण बढेको पाइएको छ ।

विभिन्न उद्देश्य र योजनाअघि सारेर देउसीभैलो खेल्ने संघ संस्थाहरूको सङ्ख्या ह्वात्तै बढेको हो ।  विगतका वर्षहरूमा बढीजसो बालबालिकाहरू मात्र देउसीभैलो खेलेको देखिने गरे पनि यसपटक भने पाका पुस्तासमेत दैनिक देउसीभैलोमा रमाइरहेका देखिन्छन् ।

पर्वत सदरमुकाम कुश्माबजारमा यसपटकको तिहारमा झण्डै ५० देखि ७० वटा समूहले देउसीभैलो कार्यक्रम गरिरहेका छन् । क्षेत्री समाज पर्वतले राहत कोष स्थापना गर्ने उद्देश्यले कात्तिक १४ गतेदेखि नै देउसीभैलो कार्यक्रम गरिरहेको छ ।

कुश्माबजारमा विभिन्न चोकमा मात्र नभएर वारीबेनी, डिमुवा, चुवालगायत स्थानमा समेत पुगेर देउसीभैली गरिएको समाजका सचिव गणेशबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार विपद्लगायत समस्यामा परेकाहरूको सहयोगका लागि कोष स्थापना गर्न कार्यक्रम सञ्चालन गरिएको हो । क्षेत्री समाजले राष्ट्रिय तथा स्थानीय कलाकारहरूलाई समेत सहभागी गराएको छ ।

यस्तै, विभिन्न पार्टीका जनवर्गीय सङ्गठनहरूले पनि विभिन्न उद्देश्य राखेर देउसीभैलो खेलिरहेका छन् । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले विपन्न तथा जेहन्दार विद्यार्थीको सहयोगार्थ देउसीभैलो कार्यक्रम गरिरहेको छ । देउसीभैलोबाट सङ्कलित रकमले आर्थिक अभावमा पढ्नवाट बञ्चित भएका विद्यार्थीलाई सहयोग गरिने सङ्गठनका सचिव सन्दीप नेपालीले जानकारी दिए ।

यसैगरी नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले पनि देउसीभैलो कार्यक्रम गरेको छ । कोष स्थापना गर्नका लागि समाजले कुश्माबजारका विभिन्न चोकमा पुगेर देउसीभैलो कार्यक्रम गरेको संस्थाका सदस्य जीतबहादुर विकले जानकारी दिए ।

यसबाहेक विभिन्न आमा समूह, पर्यटन महिला समूह, बुहारी समूह, विद्यार्थीलगायतका संस्थाहरूले पनि देउसीभैलो कार्यक्रम गरिरहेका छन् । हाल कुश्माबजार र आसपासका ग्रामीण क्षेत्र देउसीभैलोका गीतले गुञ्जायमान छन् ।

प्रतिक्रिया दिनुहोस्