Trending
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     |     नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |    
समाचार

क्याम्पस सञ्चालनका लागि देउसीभैलोबाट ४० लाख संकलन

२२ कार्तिक २०८१, बिहीबार ०५:२२

२२ कार्तिक, म्याग्दी। ग्रामीण क्षेत्रमा समुदायस्तरबाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलोबाट ४० लाख रुपैयाँ संकलन गरेको छ ।

मङ्गला गाउँपालिका–२ बाबियाचौरको लाम्पाटामा रहेको क्याम्पसले सेवा क्षेत्रमा तिहारको अवसर पारेर देउसीभैलो कार्यक्रमबाट जुटेको उक्त रकम अक्षयकोषमा बचत गर्ने जनाएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बुधबारसम्म देउसीभैलोबाट ४० लाख सहयोग जुटेको जानकारी दिए । ‘दुई करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित सञ्चालन भएको अभियानमा देउसीभैलोसहित हालसम्म ५३ लाख जुटेको छ । गाउँलेले पेन्सन, छोराछोरीको कमाई र बचतबाट खुलेर सहयोग गर्नुभएको छ,’ उनले भने ।

देउसीभैलोमा अमेरिका र बेलायतमा रहेका बाबियाचौरका एकैघरका दिदीबहिनी क्रमशः डा रेखा रोका, डा रञ्जना रोका र डा स्वस्ती रोकाले एक लाख ९२ हजारका दरले पाँच लाख ७६ हजार सहयोग गरेका छन् । उनीहरू मङ्गला गाउँपालिका अध्यक्षसमेत रहेका क्याम्पसका सम्मानार्थ संरक्षक सत्प्रसाद रोका र क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष एवम् आर्थिक सङ्कलन उपसमिति संयोजक यसोदा रोकाका छोरी हुन् ।

देउसीभैलोका क्रममा रोका दिदी बहिनीबाट सबैभन्दा धेरै सहयोग प्राप्त भएको क्याम्पस प्रमुख प्रितमबहादुर खत्रीले जानकारी दिए । उनले भने, ‘रोका परिवारबाट क्याम्पसका लागि हालसम्म १४ लाख एक हजार ५० सहयोग प्राप्त भएको छ । घरायसी समस्याले सहर बजारमा गएर पढ्न नसकेका छोरी बुहारीलाई वरदान नै बनेको क्याम्पसले गरेको शैक्षिक तथा भौतिक सफलताको सन्देश सुनाउँदै आर्थिक स्रोत जुटाउन अभियान चलाएका छौँ ।’

मङ्गलामा रहेका तीन हजार सात सय घरबाट स्वदेश तथा विदेशमा रहेकालाई प्रत्यक्ष तथा ‘भर्चुअल’ माध्यमबाट कोषमा सहयोग जुटाउने लक्ष्य पूरा नहुँदासम्म अभियान जारी राख्ने क्याम्पसले जनाएको छ ।

अक्षयकोषको ब्याजबाट पूर्णकालीन प्राध्यापकलाई तलब, गुणस्तर सुनिश्चितता तथा प्रत्यायण प्रमाणपत्र (क्यूएए) प्रक्रियाका लागि पूर्वाधार तयार गर्न, गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न, क्याम्पस र समुदायको सम्बन्ध बलियो बनाउन देउसीभैलो खेलेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्