Trending
अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |    
समाचार

क्याम्पस सञ्चालनका लागि देउसीभैलोबाट ४० लाख संकलन

२२ कार्तिक २०८१, बिहीबार ०५:२२

२२ कार्तिक, म्याग्दी। ग्रामीण क्षेत्रमा समुदायस्तरबाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलोबाट ४० लाख रुपैयाँ संकलन गरेको छ ।

मङ्गला गाउँपालिका–२ बाबियाचौरको लाम्पाटामा रहेको क्याम्पसले सेवा क्षेत्रमा तिहारको अवसर पारेर देउसीभैलो कार्यक्रमबाट जुटेको उक्त रकम अक्षयकोषमा बचत गर्ने जनाएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बुधबारसम्म देउसीभैलोबाट ४० लाख सहयोग जुटेको जानकारी दिए । ‘दुई करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित सञ्चालन भएको अभियानमा देउसीभैलोसहित हालसम्म ५३ लाख जुटेको छ । गाउँलेले पेन्सन, छोराछोरीको कमाई र बचतबाट खुलेर सहयोग गर्नुभएको छ,’ उनले भने ।

देउसीभैलोमा अमेरिका र बेलायतमा रहेका बाबियाचौरका एकैघरका दिदीबहिनी क्रमशः डा रेखा रोका, डा रञ्जना रोका र डा स्वस्ती रोकाले एक लाख ९२ हजारका दरले पाँच लाख ७६ हजार सहयोग गरेका छन् । उनीहरू मङ्गला गाउँपालिका अध्यक्षसमेत रहेका क्याम्पसका सम्मानार्थ संरक्षक सत्प्रसाद रोका र क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष एवम् आर्थिक सङ्कलन उपसमिति संयोजक यसोदा रोकाका छोरी हुन् ।

देउसीभैलोका क्रममा रोका दिदी बहिनीबाट सबैभन्दा धेरै सहयोग प्राप्त भएको क्याम्पस प्रमुख प्रितमबहादुर खत्रीले जानकारी दिए । उनले भने, ‘रोका परिवारबाट क्याम्पसका लागि हालसम्म १४ लाख एक हजार ५० सहयोग प्राप्त भएको छ । घरायसी समस्याले सहर बजारमा गएर पढ्न नसकेका छोरी बुहारीलाई वरदान नै बनेको क्याम्पसले गरेको शैक्षिक तथा भौतिक सफलताको सन्देश सुनाउँदै आर्थिक स्रोत जुटाउन अभियान चलाएका छौँ ।’

मङ्गलामा रहेका तीन हजार सात सय घरबाट स्वदेश तथा विदेशमा रहेकालाई प्रत्यक्ष तथा ‘भर्चुअल’ माध्यमबाट कोषमा सहयोग जुटाउने लक्ष्य पूरा नहुँदासम्म अभियान जारी राख्ने क्याम्पसले जनाएको छ ।

अक्षयकोषको ब्याजबाट पूर्णकालीन प्राध्यापकलाई तलब, गुणस्तर सुनिश्चितता तथा प्रत्यायण प्रमाणपत्र (क्यूएए) प्रक्रियाका लागि पूर्वाधार तयार गर्न, गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न, क्याम्पस र समुदायको सम्बन्ध बलियो बनाउन देउसीभैलो खेलेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्