२३ कार्तिक,बागलुङ। पछिल्लो सयम चर्चामा रहेको घरबास हो बागलुङ भकुण्डेको अतिथि सत्कार घरबास । उक्त घरबासमा पछिल्लो समय स्वदेशी मात्रै नभएर विदेशी पर्यटकसमेत आउने गरेका छन् ।
प्रकृतिकरुपमा विधिकिरणका कारण भकुण्डेले विदेशी पर्यटकलाई मोहनी लगाएको छ । घरबासमा पुगेका विदेशी पर्यटकले अर्गानिक खानाका परिकारसँगै हिमाल हेर्न पाउने भएपछि भकुण्डे पुग्ने जो कोही पर्यटकले घरबासको प्रशंसा गरेकै हुन्छन् ।
केही पर्यटक हेलिकप्टरमार्फत घरबासमा आएका छन् । तर पाँच वर्षदेखि नियमित रुपमा भकुण्डे आइरहने विदेशी पर्यटक भने विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छन् । बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा अहिले युकेका पाँच जना र अमेरिकाका एक गरी छ जना विदेशी पर्यटक पुगेका छन् ।
उनीहरुले यहाँबाट देखिने हिमालले मोहनी लगाएको प्रतिक्रिया दिएका छन् । बुधबार मात्रै पर्यटन व्यवसायी महादेव शर्माको नेतृत्वमा भकुण्डे पुगेका छ विदेशी पर्यटक तीन दिन घरबासमै बस्नेछन् । उनीहरुको पहिलो रोजाइ हिमालको दृश्य परेको छ । बिहान उठ्नासाथ आँखै अघिका हिमाल देख्दै अर्गानिक साग, सिस्नु, कोदो र भट्टको परिकार खाँदा छुट्टै आनन्द आएको युकेदेखि भकुण्डे घुम्न आएका म्यागीले प्रतिक्रिया दिए ।
“आफूले भकुण्डेको तस्बिर र भिडियो देखेकै कारण यहाँ आएको थिएँ, पुराना घर स्वच्छ हरियाली वातावरणमा बसेर हिमाल हेर्दा निकै आनन्द लाग्यो” म्यागीको भनाइ छ, “यस ठाउँमा आउने जो कोहीले यो रमाइलो पल बिर्सन सकिदैन होला ।” विदेशी पाहुनाले घरबास सञ्चालकसँगै कोदो टिप्ने, साग केलाउने र अन्य घरायसी काममासमेत सघाउने गरेका छन् । घरबासमा विदेशी पर्यटकको आठौँ समूह लिएर आएको पर्यटन व्यवसायी महादेव शर्माले बताए ।
शर्माले भेगन समूहमा आबद्ध विश्वका पर्यटक एक पटक भकुण्डे आउने चाहना व्यक्त गरेको बताए । उनले यहाँबाट देखिने हिमाल, सनराईज र सनसेट, हरियाली वातावरण र सिस्नो, ढिँडो र गुन्द्रुक लगायतको परिकारले पाहुनालाई मोहनी लगाउने गरेको जानकारी दिए। शर्माकै पहलमा भकुण्डेमा पाँच वर्ष अघिमात्रै विदेशी पर्यटक भित्रिएका थिए । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) रोजाइमा पर्नुको काराण यहाँको आतिथ्यता, कला संस्कृति र प्राकृतिक मनोरमको दृश्य रहेको अनुभव शर्माले सुनाए।