Trending
अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |    
वातावरण

लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित

२८ भाद्र २०८१, शुक्रबार १३:१७

२८ भदौ,काठमाडौँ। अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका कारण धनगढी—डडेलधुरा (भीमदत्त) , डडेलुधरा —दिपायल (केआईसिंह) , बुडर—जोगबुढा सडक, खोड्पे—बझाङ (जयपृथ्वी) राजमार्गमा आवागमन अवरुद्ध भएको छ ।

यसैगरी डोटीको जोरायल सडक,र सहजपुर —बिपीनगर सडकमा पनि गएको पहिरोले बाटो अवरुद्ध भएको छ । राजमार्गमा गएको पहिरोका कारण गन्तव्य तर्फ हिँडेका यातायातका साधन बीच बाटैमै रोकिएका छन् ।

कैलालीको अत्तरियास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले वर्षासँगै गएरातिदेखि विभिन्न राजमार्गमा गएको पहिरोले राजमार्गमा आवागमन अवरुद्ध भएको जनाएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका सात जिल्लालाई जोड्ने भीमदत्त राजमार्गको छ/सात ठाउँमा पहिरो जाँदा यातायात आवागमन अवरुद्ध भएको छ । आज मध्यान्हनसम्म यो राजमार्गको कतिपय ठाउँको पहिरो पन्छ्याइएको छ ।

अन्य कतिपय ठाउँको पहिरो पन्छ्याएर सडक यातायात सुचारु बनाउने प्रयास भइरहेको कार्यालयका प्रहरी सहायक निरीक्षक गङ्गादत्त भट्टले जानकारी दिए । अविरल वर्षासँगै सडक डुबानमा परेपछि कञ्चनपुरको डोके बजारदेखि बेलौरी सडक खण्डमा पनि आवागमन अवरुद्ध भएको छ ।

वर्षासँगै कैलालीको भजनी, जानकीनगर, पथरैया, कैलारी, जोशीपुर लगायतका कतिपय बस्तीमा डुबान भएको छ । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । अबिरल वर्षासँगै महाकाली, कर्णाली, ठूलीगाड, मोहना, खुटिया, कान्द्रा, घुरुवा, शिवगङ्गा, कटैनी लगायतका नदीमा पानीको बहाब बढेको छ । कर्णाली नदीमा मध्यान्हसम्म पानीको सतह १० दशमलब ६५ मिटर (खतराको तहमा) पुगेको गेज रिडर पार्वती गुरुङले जानकारी दिइन् । खुटिया र मोहना नदीमा पनि पानीको बहाव खतरा तह नजिक पुगेको छ ।

कैलाली र डोटीका जिल्ला प्रशासन कार्यालयले शनिबारसम्ममा कैलाली र डोटीसहितका जिल्लामा अतिभारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपाउन अनुरोध गरेको छ । वर्षासँगै धनगढी उपमहानगरपालिका क्षेत्र जलमग्न हुँदा कतिपय बस्तीमा दुई/तीन फिटसम्म पानी जमेर आवागमन असहज बनेको छ । हावाहुरीसहित भएको वर्षाले बिजुलीका खम्बा ढल्दा धनगढीका केही टोलमा विद्युत् आपूर्तिसमेत बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्