Trending
ल्हेन्दे खोलाको बाढीबाट विस्थापितलाई सुरक्षित गन्तव्यतर्फ पठाइयो     |     कालीकोटमा गोठालो गएका व्यक्तिको भीरबाट लडेर मृत्यु     |     हमासले भन्यो : इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव     |     संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा     |     मनास्लु पदमार्गमा लडेर एकजनाको मृत्यु     |     हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड     |     जुलाई १५ देखि युट्युबको नयाँ नीति लागू: मौलिक सामग्री नहुँदा मोनिटाइजेशन बन्द     |     नेपाली कांग्रेसले १५ नेतामाथि कारबाही गरेपछि शेखर समूह असन्तुष्ट, भोलि बैठक बस्दै     |     गण्डकी प्रदेशका लेखा अधिकृत झलक शर्माविरुद्ध ३ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा     |     कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ     |    
समाचार

भाषाको संरक्षण घरबाटै हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ

२४ कार्तिक २०८१, शनिबार १४:१५

२४ कार्तिक,दमौली। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भाषाको संरक्षण घरबाटै हुनुपर्ने बताएका छन् ।

तमु विद्यार्थी छोंज धींको आजदेखि दमौलीमा सुरु भएको बाह्रौँ महाधिवेशनको उद्घाटन गर्दै उनले भाषा लोप भए संस्कृति पनि लोप हुने भएकाले भाषा, संस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताए ।

मन्त्री गुरुङले घरबाटै आफ्नो भाषामा बोल्ने संस्कृतिको विकास गर्नसकेमा भाषाको संरक्षणमा योगदान पुग्ने भन्दै छोराछोरीसँग बोल्दा आमाबाबुले मातृभाषामा बोल्नुपर्नेमा जोड दिए । सरकारका प्रवक्ता मन्त्री गुरुङले गुरुङ जातिको मात्र नभइ हरेक जातजातिको भाषा संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

उनले युवाहरू स्वदेशमै बसेर काम गर्नुपर्ने र त्यसका लागि आत्मनिर्भर बन्ने बाटोतर्फ अगाडि बढ्नुपर्ने धारणा राखे । “देशमै बसेर केही गर्न सकिन्छ भन्ने भावना बोकेर अगाडि बढ्न युवालाई मेरो आग्रह छ । त्यसका लागि प्राविधिक शिक्षा पढ्न आवश्यकता छ, जसले आफ्नो खुट्टामा उभिन सघाउ पुग्नेछ”, मन्त्री गुरुङले भने ।

एकअर्को प्रसङ्गमा उनले नेपालको निजामति, सुरक्षा निकाय, बैङ्किङलगायत सबै क्षेत्रमा गुरुङ समुदाय पछाडि परेको र यसमा लाहुरे संस्कृति बाधक रहेको जिकिर गरे । मन्त्री गुरुङको भनाइ थियो,“लाहुरे संस्कृतिले राज्यका निकायमा प्रतिनिधित्व कमजोर बन्यो । यस विषयमा गम्भीर भएर सोचौँ र गुरुङ जातिका सङ्घसंस्थाबाट आएका व्यक्ति नेपालको राष्ट्रिय राजनीतिमा आउनुपर्छ । यी सङ्घसंस्था हाम्रा शक्तिकेन्द्र हुन्, यहाँबाट उत्पादन भएका हरेक व्यक्ति नेपालको राजनीतिमा आउन सक्नुपर्छ । तमु विद्यार्थी सङ्गठनमा रहेका युवाले देशको प्रधानमन्त्री, मन्त्री, सचिव बन्ने सपना देख्नुपर्छ ।”

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले भाषा, संस्कृति संरक्षणका लागि एकजुट हुनुपर्ने बताए । तमु युवा छोंज धींका महासचिव मनराज गुरुङ, अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्ष प्रवीण श्रेष्ठ, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य राजेश श्रेष्ठ, अखिल क्रान्तिकारीका उपमहासचिव सुदिन पौडेलले देशमै भविष्य देख्न गुरुङ युवाहरुलाई आग्रह गरे ।

तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनले छोंज धींको नयाँ नेतृत्व चयन गर्नेछ । राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका संयोजक विश्वराज तमुले महाधिवेशनमा एक हजार पाँच सय जनाको सहभागिता रहेको जानकारी दिए ।

तमु विद्यार्थी छोंज धीं गुरुङ विद्यार्थीको हकहित तथा अधिकार संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यसहित विसं २०५२ साल माघ २६ गते स्थापना भएको हो ।
विसं २०५२ साल माघ २६ र २७ गते बुटवलमा प्रथम महाधिवेशन, विसं २०५४ सालमा काठमाडौँमा दोस्रो सम्मेलन, विसं २०५७ मा चितवनमा तेस्रो सम्मेलन, विसं २०६० सालमा धरानमा चौथो सम्मेलन, विसं २०६३ सालमा पोखरामा पाचौँ सम्मेलन, विसं २०६६ सालमा पोखरामा छैटौँ सम्मेलन, विसं २०६८ सालमा बुटवलमा सातौँ, विसं २०७० मा काठमाडौँमा आठौँ, विसं २०७५ मा काठमाडौँमा नवौँ, विसं २०७९ मा काठमाडौँमा दशौँ सम्मेलन सम्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्